|

जनकपुरधाम : धनुषाका अधिकांश सरकारी कार्यालय अपांगमैत्री नहुँदा सार्वजनिक सेवा सुविधा लिन र हक, दावी गर्न कठिनाइ भएको अपांगता भएका व्यक्तिले गुनासो गरेका छन्।

यस्ता कठिनाइ मुख्य गरेर संघसंस्थामा काम गर्ने र सेवाग्राही अपांगता भएका व्यक्तिले भोग्नु परिरहेको सुनैन दासले बताए।

त्यस्तै अपांगता भएका व्यक्तिका अनुसार अधिकांश कार्यालय प्रमुखहरू माथिल्लो तलामा बस्ने परिपाटीले गर्दा समेत अपांगता भएका व्यक्तिलाई समन्वय गर्न समस्या कठिनाइ रहेको आशा कुमारी यादवले बताइन्।

यस विषयमा कार्यालय प्रमुखहरू हामी तलै आएर भेट्छौँ र कुरा सुन्छौँ भनिन्छ जुन कुराले सहानुभूतिभन्दा बढी विभेद र अपमान महसुस गराउने गरेको राष्ट्रिय अपांग महासंघ मधेश प्रदेशका प्रमुख प्रकाश नेपालीले बताए।

सार्वजनिक संरचनालाई पुनर्निर्माण गरी अपांगमैत्री बनाउन अनुरोध गर्दा पनि यो पुरानो संरचना भएकाले यस्तो अवस्था रहेको र नयाँ बन्ने संरचना अपांगमैत्री बन्ने आश्वासन दिएर आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिने गरेको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो पोखे।

यद्यपि धनुषा जिल्लाभित्रका कार्यालयमध्ये लक्ष्मीनिया गाउँपालिका, उच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले भौतिक संरचनामा सुधार गर्ने क्रम जारी रहेको  बताए।

त्यसैगरी जिल्ला अदालत जनकपुरधामले सांकेतिक भाषा सहितको दोभाषेको हेल्पडेस्कको व्यवस्था लगायतको काम भइरहेको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषा, सिनुरजोडा स्वास्थ्य केन्द्र लक्ष्मीनिया, लक्ष्मीनिया प्रहरी कार्यालयले पनि संरचनालाई पुनर्निर्माण गरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको अपांगता भएका व्यक्ति आशाकुमारी यादव र भगत मण्डलले बताए।

पहुँचयुक्त संरचना निर्माणका लागि राष्ट्रिय र अन्ताराष्ट्रिय प्रशस्त कानुनी आधार भए पनि नीतिगत व्यवस्था कार्यान्वयन नहुँदा अपांगता भएका व्यक्तिहरूको जीवन सञ्चालनमा अवरोध सिर्जना भएको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.