|

वीरगञ्ज : मधेश प्रदेशका ९०.६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन्। यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो।

मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म ९.४ प्रतिशत अर्थात् पाँच लाख ७३ हजार ४३३ ले मात्रै बीमा गराएका छन्। यो तथ्याङ्कले मधेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण कम रहेको देखाउँछ।

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले मधेश प्रदेशमा बीमाको पहुँच कम भएकाले तीनवटै तहका सरकारको समन्वयमा प्रदेशभरिका जनताको बीमा गर्ने योजना अघि बढाउन आवश्यक रहेको बताए।

‘मधेश प्रदेशमा बीमाको पहुँच न्यून देखिएको छ। यहाँका जनताको आर्थिक तथा स्वास्थ्यको स्तर कमजोर भएकाले तीनवटै तहको सरकारले आवश्यक समन्वय गरेर प्रदेशभरिका जनताको बीमा गरिदिने परिपाटीको विकास गर्न आवश्यक देखिएको छ’, उनले भने, ‘यसअघि कर्णाली प्रदेश सरकारले त्यहाँका सबै जनताको बीमा गरिदिएझैँ यहाँ पनि सबै जनताको बीमा गर्न जरुरत देखिन्छ। त्यसका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार छ।’

मधेश प्रदेशमा मात्रै होइन, समग्र देशभरका नागरिकमा बीमा पहुँचको अवस्था सन्तोषजनक छैन। विसं २०८० को चैत मसान्तसम्म मुलुकभरिका ४३.३ प्रतिशत जनसङ्ख्या मात्रै बीमाको पहुँचमा छन्। अझै ५६.७ प्रतिशत नागरिक जीवन बीमाको पहुँचभन्दा बाहिर छन्।

प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक निर्मल खनालले मधेशका नागरिकमा बीमा साक्षरतासम्बन्धी ज्ञानको कमी र सीमावर्ती बजारमा बीमा गर्ने परम्पराले बीमाको पहुँचमा कमी आएको बताउँछन्। निप्स ननलाइफ वीरगञ्जका अध्यक्ष धीरज शर्माले मधेशका जनता गरिबीको रेखामुनि र आर्थिक अवस्था कमजोर भएकाले राज्यकै तर्फबाट बीमा गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताए।

निप्स लाइफ वीरगञ्जका अध्यक्ष प्रमोदप्रसाद शाहले बीमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाको मारमा सर्वसाधारण पर्दा बीमाप्रतिको आकर्षण बढाउन नसकिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.