|

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपीयन कमिसनका उपनिर्देशक मिरियाम फेरानसँग आज विविध विषयमा कुराकानी भएको छ।

काठमाडौंको सोल्टी होटलमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रसंशा गरे।

उनले भने, “नेपाल र युरोपियन युनियन बीच सम्बन्धको पृष्ठभूमी, नेपाल र युरोपियन युनियनबीच विगत सन् १९७४ देखि घनिष्ठ सम्बन्ध रहिआएको छ, युरोपियन युनियनसँगको साथ र सहकार्यलाई नेपाल सरकारले उच्च प्राथमिकता दिने गरेको छ।”

मन्त्री भण्डारीले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको आवश्यकता एवं औचित्यका विषयका बारे नेपाल र युरोपियन युनियनको साझा धारणा रहेको बताए। उनले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी रहेका महामारी एवं जलवायु परिवर्तन जस्ता विभिन्न सङ्कटलाई सम्बोधन गर्नका निम्ति बहुक्षेत्रीय सहायताको बढ्दो आवश्यकता रहेको उल्लेख गरे।

“नेपाल अल्पविकसित राष्ट्रको स्तरबाट विकासशील राष्ट्रको स्तरमा सन् २०२६ सम्ममा स्तरोन्नती हुने जमर्को गरिरहेको छ, यस ऐतिहासिक रुपान्तरणलाई दिगो बनाउन नेपाल सरकारलाई विभिन्न विकास साझेदारहरुका साथै युरोपियन युनियनबाट प्राविधिक र आर्थिक सहयोग आवश्यकता रहेको छ”, मन्त्री भण्डारीले भने।

नेपाल र युरोपियन युनियनले सहयोग तथा पारस्परिक सम्मानमा आधारित सम्बन्ध र सहकार्य गर्दै आएको उनको भनाइ थियो। उनले भने, “यस दीर्घकालीन साझेदारीको क्रममा युरोपियन युनियन नेपाली वस्तु तथा सेवा निर्यातका लागि एक प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ, हाम्रा निर्यातयोग्य वस्तुलाई सहज बजार पहुँच सुनिश्चित हुने व्यवस्थाका लागि गराउन हामी अनुरोध गर्न चाहन्छौं, व्यापार क्षमता अभिवृद्धि र मूल्य शृङ्खला विकासमा युरोपियन युनियनको महत्वपूर्ण योगदानले नेपालको आर्थिक उन्नतिलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको छ।”

मन्त्री भण्डारीले आगामी दिनमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने उल्लेख गर्दै सहकार्यलाई अझै गहिरो बनाउँदै पारस्पारिक सम्बन्धलाई अगाडि बढाउने बताए।

“हामी कोरोनापछिको आर्थिक पुनरूत्थान र विकासशील राष्ट्रको स्तरोन्नतीको प्रयासमा रहेको हुनाले विभिन्न विकास निर्माणका कार्यमा थप लगानीको आवश्यकता रहेको छ”, उनले भने।

सो क्रममा उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले उद्योगमन्त्री भण्डारीलाई नेपाली वस्तु युरोपियन मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरे। उनले भने, “हामी नेपाली वस्तुको युरोपमा व्यापार विस्तार होस् भन्ने चाहन्छौँ, त्यसका लागि हामीबाट गर्नुपर्ने पहलमा कमी हुने छैन।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.