|

काठमाडौँ : ललितपुर मेयर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअगावै प्रतियोगिताको फाइनलमा पुगेको हो। 

आजको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपिएफले ९ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रनको योगदान दिइन्। उनले ३५ बलमा ८ चौकासहित ५० रन बनाएकी हुन्।

ममता चौधरीले २१ बलमा एक चौकासहित १६ रन बनाइन् भने इन्दु बर्मा र रोमा थापा १/१ रनमा अविजित रहे।

ललितपुरका लागि कृतिका मरासिनीले २ विकेट लिइन्। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर  ७१ रन बनाएको थियो।  कप्तान पूजा महतोले सर्वाधिक २४ रन बनाइन्। उनले ३९ बलमा एक चौकासहित २४ रन बनाइन्। ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहार गर्दै २१ रन जोडिन्।

एपिएफका लागि रेखा रावल र कप्तान सीता रानामगरले १/१ विकेट लिए। 

५ टोली सहभागी उक्त प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदै छ। लिग चरणका शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एपिएफले ३ खेलमा ६ अङ्क बटुलेको छ। सुदूरपश्चिमले २ खेलमा ४ अङ्क रहेको छ। यता ललितपुरको ३ खेलमा २ अङ्क रहेको छ भने २/२ खेल खेलेका कोशी प्रदेश र बागमती प्रदेश अङ्कविहीन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.