|

काठमाडौँ : सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

विभिन्न विषय समेटिएको उक्त नीति तथा कार्यक्रममार्फत सरकारले आगामी वर्ष दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ।

नीति तथा कार्यक्रममा सबैका लागि खेलकुद तथा योग अभ्यासको अवसर सिर्जना गरिने उल्लेख गरिएको छ। सरकारले नेपालको मौलिक एवं परम्परागत खेलहरूको प्रवर्द्धन गर्न तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरिने जनाएको छ।

सरकारले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने उल्लेख गरेको छ।

सरकारले आगामी वर्ष आधुनिक प्रविधियुक्त इ-स्पोर्टसको अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जनाएको छ। राष्ट्रिय स्तरको खेलकुदका लागि पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्ने सरकारको योजना छ।

‘काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइनेछ। चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ। कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ ‘, नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले आगामी वर्षदेखि विद्यालयका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने जनाएको छ। बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने र  खेल क्षेत्रमा महिला सहभागिता बढाउने सरकारको योजना रहेको छ।

‘खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ। अन्तरराष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ।

गत वर्ष कस्ता थिए नीति तथा कार्यक्रम?

राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नीति तथा कार्यक्रम दोस्रो पटक प्रस्तुत गरेका हुन्। गत वर्ष पनि सरकारले खेल क्षेत्रमा विभिन्न नीतिको घोषणा गरेको थियो।

गत वर्ष सरकारले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने जनाएको थियो। वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिनेछ। खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइनेछ’, ०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख थियो।

सरकारले गत वर्ष अन्तरराष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिने जनाएको थियो।

गत वर्ष सरकारले खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लैजाने तथा  खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने जनाएको छ।

‘आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तरराष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिनेछ। चितवनको भरतपुर, कैलालीको फाप्ला बैतडीको दशरथचन्द र मोरंगको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइनेछ’, गत वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.