|

काठमाडौँ : राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनामा आव ०८५/८६ सम्म नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य राखेको छ।

बुधवार राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाका लक्ष्य सार्वजनिक गर्दै आव ०८५/८६ सम्म नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको जनाएको हो। 

आयोगले पञ्चवर्षीय योजनामा ०८०/८१ मा ५७ खर्बमाथि पुग्ने अनुमानका आधारमा ०८५/८६ सम्म जीडीपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताए। 

उनले आव ०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६औँ योजनाले लिएको बताए। उनले १६औं योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको बताए। 

आगामी आव ०८१/८२ मा ६ प्रतिशत, आव ०८२/८३ मा ६.६, आव ०८३/८४ मा ७.४, आव ०८४/८५ मा ७.९ र आव ०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने लक्ष्य १६औँ योजनाले लिएको उल्लेख गरे।

उनले नेपालीको १ हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी ५ वर्ष अर्थात\ आव ०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताए। 

गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य पनि आयोगले लिएको उनले बताए। 

१६औँ योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउने, बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने जस्ता लक्ष्य १६औँ योजनाले राखेको छ।

उनले १६औँ योजनाले विद्युत उत्पादन ११ हजार ७६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको पनि बताए।

कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्‍याउने लक्ष्य योजनाले राखेको छ। १६औँ योजनाको आगामी ५ वर्षमा सार्वजनिक, निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.