|

काठमाडौँ : सुक्खा मौसमबाट चिन्तित मोरङका किसानले पानी परेपछि राहत महशुस गरेका छन्।

तापक्रम वृद्धिसँगै मौसममा आएको परिवर्तनका कारण तरकारी बाली सखाप हुने चिन्तामा रहेका किसान पानी पर्न थालेपछि चिन्तामुक्त बनेका हुन्। 

कोशी प्रदेशका विभिन्न ठाउँमा केही दिनयता भएको वर्षाका कारण तरकारी बाली जोगिने भएपछि किसानहरूले राहत महशुस गरेका हुन्। 

वैशाख महिनाको शुरुवातसँगै देशभरको तापक्रम बढेर खडेरीको अवस्था सामना गर्नुपर्दा तरकारी किसान चिन्तित थिए। अस्वाभाविक तापक्रम वृद्धिले तरकारी बाली प्रभावित हुने देखिएपछि हरेस खाइसकेका किसान प्रि–मनसुनको वर्षा शुरु भएपछि हर्षित बनेका हुन्।

कृषकहरुले पानी नपर्दा धेरै चिन्ता लागे पनि अहिले पानी परेपछि केही राहत मिलेको बताए।

मोरङमा किसानहरूले वार्षिक १ लाख ५२ हजार मेट्रिक टनको हाराहारीमा ५६ प्रकारका तरकारी उत्पादन गर्छन्। जसमा काँक्रा, लौका, परवल, गोलभेडा, बोडी र खुर्सानीलगायत ८/९ प्रकारका तरकारी उत्पादन यही सिजनमा हुन्छ। 

तर पछिल्लो समय वर्षा नभएर खडेरी लागेपछि बालीको वृद्धि विकासमा अवरोध र किरा लाग्नेलगायत समस्या देखिएको थियो।

वर्षा शुरु भएसँगै यस पटकको तरकारी उत्पादन पनि राम्रो हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्शकुमार सिंहले बताए।

उनले पानी परेसँगै किसान र कृषिजन्य उत्पादनमा राहत मिलेको बताए। मोरङमा भने कुल १० हजार ११३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.