|
फाइल तस्वीर

काठमाडौँ : प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथिको प्रतिकूल मौसमका कारण हिजो मंगलवार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ।

सगरमाथा आरोहणका क्रममा हराइरहेका दुईजना मङ्गोलियाली आरोहीको खोजी तथा उद्धारका लागि ‘एटके एक्सपिडिसन’ प्रालिमार्फत २ शेर्पा खटाइए पनि मौसमी प्रतिकूलताका कारण चौथो शिविरमै रोकिएको र उद्धारका लागि थप दुईजना शेर्पा हाल तेस्रो शिविर पुगेको जनाइएको छ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको जारी आरोहणमा गत वैशाख ३१ गते विहान ८:४५ बजे सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलियाली नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागले जनाएको छ।

गत वैशाख २८ गते शुरु भएको वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन्। 

कामीरिता शेर्पाले वैशाख २९औँ पटक सगरमाथा आरोहण गरेर यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्।

विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.