|

काठमाडौँ : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। आज आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो। 

द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला  हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरे।

आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। नबिल बैंकले चार अर्ब ४० करोड लगानी गर्नेछ। सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्नेछन्।

यस्तै एचआइडिसिएलले चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले चार अर्ब, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड लगानी गर्नेछन्।  यो आयोजना निर्माणका लागि २३ अर्ब लाग्ने अनुमान गरिएको छ। जसमध्ये करिब १६ अर्ब ऋण र सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ।

वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। कुनै एउटा परियोजना कुन हदसम्म महत्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनौँ जलविद्युत् आयोजना पहिचान भएका छन्। निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन।

सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा उत्पादन क्षमता (कर्णाली, भेरी, तिलालगायतका नदी करिडोरमा) १८ हजार मेगावाट बराबर छ। हाल आठ दशमलव ५५ मेगावाट बिजुली दैलेखमा उत्पादन भएको छ। सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शुन्य दशमलव २० मेगावाट मात्रै उत्पादन भएको छ। 

दैलेखको पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। कूल एक सय छ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.