|

काठमाडौँ : राज्यलाई दबाब दिने र आवाज बुलन्द पार्ने थलो बनेको छ माइतीघर मण्डला- सधैँ आन्दोलन, सधैँ सडक जाम। योभन्दा फरक दृश्य यहाँ प्रायशः देखिँदैन। अहिले पनि सडक विभिन्न मागसहितको ब्यानरले भरिएका छन्। त्यही अगाडिको सडक पेटीमा हिजो (बुधवार)देखि उभिरहेका छन् एक जना पुरूष।

‘गुणस्तरीय शिक्षाको आधार, इसिडी शिक्षामा सुधार’ नारा लेखिएको कागजी टोपी टाउकोमा छ। उनी हुन् नेत्र चापागाई। जो आफ्ना लागि नभई विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ति उभिरहेका छन्।

उनको आन्दोलनले न ट्राफिक जाम गराएका छन् न नारा नै घन्काएर होहल्ला। उनी मौन छन् तर जीउभरि मागका नाराहरू टाँसिएका छन्। 

दैनिकजसो आन्दोलनले माइतीघर मण्डला अस्तव्यस्त हुन्छ। यात्रु, सर्वसाधारणहरू उत्तिकै सास्ती खेप्न बाध्य छन् तर उनको आन्दोलनले केही असर पुर्‍याएन।

उनी भन्छन्, ‘आन्दोलनको ट्रेन बदलिएको छ, सडक जाम गरेर काम गरिरहेकालाई बेरोजगार गराएर यहाँ ल्याउन हुँदैन, सक्दैनौँ पनि, त्यसैले म एक्लै उभिएर राज्यलाई दबाब दिएको हुँ, यो मेरो आवाज राज्यले सुन्ने पर्छ, विभिन्न मागहरू बजेट अधिवेशनअगाडि नै सुधार्नुपर्ने व्यवस्था गर्नुपर्छ, त्यसैले शान्तिपूर्ण अभियान थालेको हुँ। ’ 

किन उभिए त?

उनी विहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिन्छन्। यसरी उभिनुका कारण छन्। उनका विभिन्न माग छन्। ती माग पूरा गर्न सडकबाट राज्यलाई दबाब दिएका हुन्।

उनी भन्छन्, ‘सरकारी विद्यालयमा बाल शिक्षा प्रभावकारी छैन, नीतिगत त्रुटि छन्, सुविधा छैन, यी व्यवस्था हुनुपर्छ भन्ने मेरो माग हो।’ 

सरकारले सञ्चालनमा ल्याएको हालको प्रारम्भिक बाल विकास इसिडी जम्मा एक तहको छ। त्यसैगरी सरकारले नै निजी विद्यालयलाई ४ तह (प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी) को मान्यता दिएको छ।

‘यहीँनिर नीतिगत विरोधाभाससहित गम्भीर कमजोरी भएको छ, यसलाई बालबालिकासम्बन्धी अन्तरराष्ट्रिय कानून‚ मान्यता र देशको अवस्था हेरेर नीतिगत रूपमा नै सच्याएर कम्तीमा समान तीन तहको इसिडीको व्यवस्था गर्न गराउनका लागि पनि यहाँ उभिएको हुँ,’ उनले सुनाए।

प्रारम्भिक बाल विकास अत्यन्त संवेदनशील ठाउँ हो। त्यसो त इसिडी शिक्षक शिक्षिकाको योग्यता, सुविधा अन्तरराष्ट्रिय मापदण्डअनुसार युगानुकूल बनाउनुपर्ने, प्रत्येक तहमा सहयोगी शिक्षक कर्मचारीको व्यवस्था गर्नुपर्ने र हाल भइरहेको शिक्षक कर्मचारीलाई तत्काल बाल मनोविज्ञान केयरगिभर मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्नु गराउनुपर्ने पनि उनको माग छ।

‘बालबालिकाको सिकाई भनेको खेलाई पनि हो,’ उनी भन्छन्, ‘आज हाम्रो विद्यालयमा भएको कक्षा कोठा बालमैत्री छैनन्, पर्याप्त सिकाई सामाग्री, खेल सामग्री र उपयुक्त पाठ्यक्रम पनि छैन, त्यसैले यसै आर्थिक वर्षबाट इसिडीलाई भौतिक संरचना, सिकाई सामाग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन तथा नीति र कार्यविधि निर्माण गर्न गराउनुपर्छ।’

अहिले केन्द्र र स्थानीय सरकारले कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोट जिल्लाका स्थानीय तहले प्रति विद्यार्थी दैनिक २० रूपैयाँका दरले दिँदै आएका छन्।

अन्य जिल्लाका स्थानीय तहहरूले प्रति विद्यार्थी दैनिक १५ रूपैयाँका दरले दिँदै आएका छन्। उक्त रकम अत्यन्तै कम भएको भन्दै प्रति विद्यार्थी न्यूनतम ५० खाजा खर्च यो बजेटबाटै व्यवस्था गर्नुपर्ने उनको अर्को माग छ।

‘सांसदहरूलाई खाजा खर्च ५ सयदेखि हजार रूपैयाँ राख्छ, विद्यार्थीको १५ रूपैयाँ राखिन्छ, बजारमा अण्डा किन्न जाँदा २० रूपैयाँ पर्छ, अनि कसरी विद्यार्थीहरूले पोषिलो खाजा खान पुग्छ?,’ उनले राज्यलाई प्रश्न गरे, ‘इसिडी शिक्षकको तलब मासिक ८ हजार छ, शिक्षकहरूको मनोबल नबढाएसम्म बाल शिक्षा सुध्रिँदैन, सरकारले शिक्षक विद्यार्थीहरूलाई श्रम शोषण गरिरहेका छ।’

यस्ता शैक्षिक समस्याहरू लिएर सरकारसँग नागरिकहरू सम्बन्धित निकायमा जाँदा स्थानीय तहले प्रदेश देखाउने, प्रदेशले केन्द्र देखाउने र केन्द्रले स्थानीय तह देखाउने समस्या भएको हुँदा ३ तहको सरकारको क्षेत्रअधिकार स्पष्ट पार्नुपर्ने पनि उनको माग छ। 

सरकारले माग नसुने २४सै घण्टा उभिन्छु

सरकारले यी माग नसुने ५ गतेपछि २४सै घण्टा उभिने उनको योजना छ।

नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘सरकारले माग पूरा नहुञ्जेल ५ गतेसम्म उभिन्छु, यो समयमा पनि माग सुनुवाइ भएन भने ५ गतेपछि २४ सै घण्टा उभिन सक्छु, आजदेखि अन्य ठाउँमा पनि साथीहरूले उभिएर दबाब दिन थालेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.