फाइनल खेल झ्यालुन्टार मैदानमै

|

ललितपुर : चन्द्रागिरि नगरपालिका र काठमाडौँ महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। 

चन्द्रागिरी, महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौँ, मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन्। ललितपुरको च्यासल खेल मैदानमा बिहीवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरी नगरपालिका फाइनलमा प्रवेश गरेको हो। 

चन्द्रागिरिले खेलको ५५औँ मिनेटमा महालक्ष्मीका निशान रावलको आत्मघाती गोल उपहार पाएको थियो। सो खेलको म्यान अफ दि म्याच चन्द्रागिरिका सिल्भा कन्दाग्वा भए। उनलाई गोदावरी नगरपालिकाको तर्फबाट ५ हजार नगद र ट्रफी महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी मर्हजनले हस्तान्तरण गरिन्।  

सो खेलमा उदयमान खेलाडीको ट्रफी महालक्ष्मीका निशान बस्नेतले पाए। उनलाई महालक्ष्मीकी उपमेयर मर्हजन र व्यावसायी सुवास पुडासैनीले संयुक्त रुपमा ट्रफी प्रदान गरे।  

यसैगरी अर्को सेमिफाइनल खेलमा मध्यपुर थिमि नगरपालिकालाई १–० ले नै हराएर काठमाडौँ महानगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको छ। 
महानगरका लागि मनिष सेढाईँले गरेको एक मात्र गोल निर्णायक भयो। उनले खेलको ५३औँ मिनेटमा गोल गरेका हुन्। 

खेलमा म्यान अफ दि म्याच काठमाडौँका अनिल खड्का भए। उनलाई मध्यपुर थिमिका प्रवक्ता कृष्णहरि आचार्यले ट्रफी र ५ हजार नगदको चेक हस्तान्तरण गरे। 

खेलमा मध्यपुरका अमर श्रेष्ठ उदयमान खेलाडी घोषित भए। उनलाई प्रतियोगिता संयोजक निरोज बज्राचार्यले सो ट्रफि प्रदान गरे। वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको  झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुबै सेमिफाइनलका खेल च्यासलमा खेलाईएको थियो। 
फाइनल खेल भने झ्यालुन्टार मैदानमै खेलाइने छ। सो खेल शनिबार दिउँसो हुनेछ। 

गोदावरी नगरपालिकाको बि टिमलाई हराउँदै काठमाडौं महानगर सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले पाखा लगाउँदै मध्यपुर थिमिले अन्तिम चारमा स्थान पक्का गरेको हो। 

दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम चारमा स्थान बनाएको हो। यस्तै चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो।  

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन्। यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.