|

समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनःसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ। 

संकटलाई मध्यनजर गरी डिसेम्बरमा कम्पनीको शेयरको ‘डिलिस्टिङ भएसँगै एक कन्सोर्टियमले निजीरूपमा कम्पनीको अधिग्रहणपछि यस्तो घोषणा गरेको हो। 

‘विशिष्ट मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीहरूलाई स्वेच्छिक सेवानिवृत्त गर्ने प्रस्ताव गरेर नोभेम्बरसम्ममा कर्मचारीहरूको सङ्ख्या घटाइने छ’, कम्पनीका एक प्रवक्ताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘व्यवस्थापनको यो कठिन निर्णय थियो तर तोसिबाको पुनःप्राप्ति र वृद्धिको मार्गमा फर्काउन यो उपाय आवश्यक छ भन्ने हामीले ठानेका छौँ।’

जापानमा व्यापक स्तरमा कर्मचारी कटौती दुर्लभ छ तर शीघ्र सेवानिवृत्ति योजना वा स्वेच्छिक अतिरिक्तताको यस्तो प्रयोग तीव्रताका साथ बढेको छ।

कम्पनीले आर्थिक वर्ष २०२६ मा तीन खर्ब ८० अर्ब येन (दुई अर्ब ५० करोड डलर) को परिचालन नाफा र बिक्रीमा १० प्रतिशत प्रतिफलको लक्ष्य राखेको बताएको ब्लुमबर्गले उल्लेख गरेको छ। आर्थिक वर्ष २०२५ को पहिलो छ महिनामा टोक्योको हमामात्सुचो क्षेत्रबाट जापानको राजधानी बाहिर कावासाकीमा प्रधान कार्यालय कार्य सार्ने योजना छ।

तोसिबाको जरा सन् १८७५ मा शुरु भयो र २०औँ शताब्दीमा यो विशाल समूहका रूपमा विकसित भयो। कम्पनी जापानको युद्धोपरान्त आर्थिक पुनरुत्थानको पर्यायवाची बन्यो। 

प्रारम्भमा ल्यापट कम्प्युटर, लिफ्ट र आणविक ऊर्जा स्टेसनदेखि लिएर माइक्रोचिप्ससम्म सबैथोक बनाएर यो कम्पनी जापान र त्यो बाहिर घरेलु नाम बन्यो। 

तर सन् २०१५ मा भएको ठूलो लेखा घोटाला र अमेरिकी आणविक सहायक कम्पनी वेस्टिङहाउसबाट अर्बौं डलरको घाटासहित हालैका वर्षहरूमा कम्पनी थप संकटमा पुगेको छ। सक्रिय शेयरधनीहरूको दबाब र निजी इक्विटी समूह सीभीसीको अधिग्रहण प्रस्तावले कम्पनीलाई पहिला तीन र पुनः दुई भागमा विभाजित गर्ने असफल प्रयासलाई रोक्यो। 

अन्ततः सन् २०२३ मार्चमा करिब २० वटा जापानी बैंक र अन्य कम्पनी सामेल भएको कन्सोर्टियमले करिब १४ अर्ब डलरको अधिग्रहण गर्ने बोलीलाई तोसिबाको बोर्डले स्वीकार गर् यो। टोक्यो एक्सचेञ्जमा ७० वर्षभन्दा बढी कारोबारपछि यसका शेयरहरूलाई डिसेम्बरमा डिलिस्ट गरिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.