|

बैतडी : सुदूरपश्चिम प्रदेश काठमाडौँमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा बागमती प्रदेशमाथि १०९ रनको शानदार जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो। ​

सुदूरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा अलआउट भयो। उसका  करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीको पारी ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमकी रीतु कनौजियाले ३, लक्ष्मी साउदले २, कविता जोशीले २, करिश्मा थापाले १ र कप्तान बिन्दु रावलले १ विकेट हात पारे।

यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा २  विकेटको क्षतिमा १५७ रन जोड्यो।  प्रतियोगितामा दोस्रो अर्धशतक प्रहार गरेकी  सम्झना ४७ बलमा १० चौकासहित ७४ रनमा अविजित रहिन्।

यस्तै कप्तान बिन्दु रावलले २८, रुवी पोद्दारले २८ र कविता जोशीले २० रनको योगदान गरे। 

बागमतीका लागि करिश्मा गुरुङले १ विकेट हात पारिन्।  

जितसँगै सुदूरपश्चिम  चार खेलबाट तीन जितसहित  ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ। एपीएफ क्लब ४ खेलबाट ८ अंक जोड्दै फाइनलमा पुगेको हो।

यी दुबै टोलीबीच फाइनल भिडन्त शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.