|
फाइल तस्वीर

तुलसीपुर : दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बीचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ।

गाउँ ठूलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ।

कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल २१ जनामात्र विद्यार्थी छन्। शिशु कक्षामा एकजना पनि विद्यार्थी छैनन् भने कक्षा १ मा ६ जना, कक्षा २, ३ र ४ मा ३/३ जना र कक्षा ५ मा ६ जना विद्यार्थी छन्। तीमध्ये पनि विद्यालयमा केहीमात्रै आउँछन्। 

“सबै विद्यार्थी विद्यालय आउने गरेका छैनन्। त्यसैले पनि दुई तहका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ”, प्रधानाध्यापक बुद्धिमान चौधरीले भने। 
कहिले कक्षा १ र २ लाई र कहिले २ र ३ लाई सँगै राखेर पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

“विद्यार्थी थोरै छन्, कहिले १ र २ तथा कहिले २ र ३ लाई एउटै कक्षामा राखेर पढाउने गरेका छौँ”, उनले भने, “यसले गर्दा विद्यार्थीहरु पढ्दा अन्योल पर्ने गर्छन्।”
गत वर्ष ४५ जना विद्यार्थी रहे पनि यस वर्ष विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको प्रअ चौधरीले जानकारी दिए। 

नजिकै बोर्डिङ स्कुल खुलेकाले पनि सबै विद्यार्थी उतै गएका उनको भनाइ छ। उनका अनुसार विद्यालयमा तीनजना शिक्षक कार्यरत छन्।

नयाँ पुस्ताले विद्यालयको नेतृत्व हाँकेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन सक्ने प्रअ चौधरीले अनुभव सुनाए।

“हामी बुढो भइसक्यौँ, मलाई अन्त सरुवा गरे हुन्थ्यो”, उनले भने, “विद्यालयको नेतृत्व युवाले गर्नुपर्छ अनि मात्रै सुधार हुन्छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.