समन्वय नहुुँदा समस्या, अरु योजनाको अवस्था के छ?

|

  • धर्मराज भट्ट

काठमाडौं : कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुडा जोड्ने सडकखण्ड निर्माणका लागि विनियोजन गरिएको ३० करोड बजेट ‘फ्रिज’ हुने अवस्था आएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत सो खण्डका लागि बजेट विनियोजन गरे पनि हालसम्म ठेक्का आह्वानकै प्रक्रिया समेत शुरु भएको छैन। सो खण्डमा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट ठेक्का सम्झौता जारी भएकाले पूरक ठेक्का आह्वान गर्न नसकिने अवस्था भएकाले बजेट फ्रिज जाने सडक विभाग डोटीका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी दिए।

उनले भने, ‘चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजना गरिएको हो। तर प्रदेशको ठेक्का पहिल्यैदेखि कायम रहेकाले हामीले पूरक ठेक्का आह्वान गर्न सकेनौँ। साइट प्याक भएकाले हाम्रो तर्फबाट बजेट फ्रिज भएको विवरण पठाउछौँ। अरु योजनामा रकमान्तर गर्ने विषय सम्बन्धित मन्त्रालयकै हातमा हुन्छ।’ सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न भीमदत्त राजमार्गको विकल्प मानिएको दैजी-जोगबुडा सडकखण्ड अन्तर्गत दुई खण्डमा निर्माण जारी छ। २०७४ सालमा दुई खण्डमा ठेक्का आह्वान गरेर काम भइरहेको थियो। तर अहिले दुवै खण्ड अलपत्र छन्। 

दैजी–लिपना खण्डमा १३ किलोमिटर सडकमा नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड रुपैयाँमा निर्माणको जिम्मेवारी पाए पनि काम कछुवा गतिमा छ। आठ किलोमिटर सडक कालोपत्र भए पनि केही वर्षअघि  पहिरोले सडकसँगै नाली, तारजालीलगायत संरचना भत्काएको थियो। अहिले बजेट अभावमा काम निकै सुस्त छ। 

जोगबुडा-लिपना खण्डको अवस्था पनि उस्तै छ। २०७४ सालमै राजेन्द्र शर्मा जेभीसँग २१ करोड ३६ लाखमा २०७७ सालमै काम गर्नेगरी ठेक्का सम्झौता भएको थियो। दोस्रोपटक थपिएको म्याद गत वर्ष असारमै सकिएर २०८२ असार मसान्तसम्म तेस्रोपटक म्याद थप भएको थियो। तर पूर्वाधार कार्यालयसँग बजेट हुँदा ठेकेदार कम्पनीले काम गरेन। अहिले कार्यालयसँग बजेट छैन। तर ठेकेदार कम्पनीले काम गर्न खोजिरहेको छ। 

पूर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त प्रमुख नवराज रावलले भने,‘ हामीसँग बजेट हुँदा ठेकेदर कम्पनीले ढिलासुस्ती गर्‍यो। पटक-पटक हाम्रो ताकेता पछि अहिले ठेकेदारले काम गर्न खोजिरहेको छ। तर हामीसँग पैसा छैन। फगुनसम्म चार करोड बजेट थियो। तर चिर्किट्टे खण्डमा पठाइसक्यौँ।’ ३७ करोड ६२ लाख कुल लागत अनुमान रहेको यो खण्डमा ठेकेदार कम्पनीलाई ६ करोड ६० लाख भुक्तानी गरिएको छ भने भौतिक प्रगति ४० प्रतिशत छ। अहिले परशुराम नगरपालिका-९ गाइबाधे बजारदेखि पाँच किलोमिटर माथिसम्म कालोपत्रका लागि सडक ग्राभेल गरएको छ। तर, बजट अभावले काम रोकिएको छ। 

समन्वय नहुुँदा समस्या

यो खण्डको पाँच किलोमिटर सडक (लिपना बजारको तल्लो मोडदेखि परशुराम नगरपालिकाको सीमासम्म) अहिले प्रदेशको ठेक्का छैन। यस्तो अवस्थामा भिरालो र जोखिमपूर्ण सडक भएको लिपना खण्डमा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको बजेट प्रयोग गर्न सकिए पनि समन्वय गर्न नसकिएको रावल स्वीकार्छन्। उनी भन्छन्, ‘उहाँहरू (सडक डिभिजन डोटी)ले पनि हामीसँग सल्लाह गर्नुभएन र हामी पनि चुक्यौँ। करिब पाँच किलोमिटर सडकमा संघले ठेक्का लगाउन सक्ने अवस्था थियो।’

कञ्चनपुर खण्डमा पहिरोले सडक बगाएपछि प्रदेश सरकारले मर्मतका लागि भन्दै नागार्जुन कन्स्ट्रक्सनसँगको सम्झौतामा पुनरवलोकन गर्दै पाँच किलोमटर तलसम्म मात्रै निर्माण गर्न भनेको थियो। 

वैकल्पिक सहायक राजमार्गका अरु योजनाको अवस्था के छ ? 

चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि भौतिक पूर्वाधार मन्त्रालयमा मात्र ५ अर्ब २० करोड ५७ लाख रुपैयाँ छुट्याइएको थियो। यसको झण्डै आधा रकम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनाव क्षेत्र गोरखा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्ला नुवाकोटमा मात्रै विनियोजन गरिएको थियो। त्यसअन्तर्गत डडेल्धुरामा सबैभन्दा बढी एक अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो, जसमा आठ योजना समावेश छन्। अधिकांश योजना निर्माण सकिने चरणमा रहेको सडक डिभिजन डोटीले जानकारी दिएको छ।

१५ करोड विनियोजन गरिएको भत्काँडा-बडाल सडकमा ४० प्रतिशत भौतिक प्रगति भएको छ। यो खण्डमा टेडी कालीका जेभी कैलाली र  एमएस एसटी भवानी जेभी डडेल्धुराले दुई खण्डमा काम गरिरहेका छन्। यो आर्थिक वर्ष भित्रै यो योजना सम्पन्न हुने डिभिजनको भनाइ छ। 

१० करोड छुट्याइएको जोगबुडा शीर्ष रूपाल सडकको भौतिक प्रगति ६५ प्रतिशत छ। ग्रेड सुधारको काम भइरहेको यो सडकमा  भवानी एसएफ जेभी धनुषाले ठेक्का पाएको छ। यस्तै गैरा गाङखेत आलीलाल सडकको भौतिक प्रगति ५६ प्रतिशत छ। १० करोड विनियोजन गरिएको यो योजनाको ओस्न्याप भिजन जेभी काठमाडौंले ठेक्का पाएको छ। 

१० करोड रुपैयाँ विनियोजन गरिएको सल्लाघारी-उग्रतारा-आइत-बागबजार सडकमा ४० प्रतिशत भौतिक प्रगति भएको छ। यसमा सिमरन चामुण्डा जेभी काठमाडौंले ठेक्का पाएको छ। पोखरा बेलापुर सडकखण्डमा नेसनल रामजान भीमढुंगा जेभीले ठेक्का पाएर काम गरिरहेको छ। १० करोड विनियोजन गरिएको यो आयोजनाको प्रगति ४५ प्रतिशत छ। यस्तै बगरकोट-सिराड-रूपाल सडकमा १० करोड विनियोजन गरिएको छ।

दुई खण्डमा काम भइरहेकोमा एमएस जेभी डडेल्धुराले काम सकेर भुक्तानीको प्रक्रियामा छ भने आशिष कन्स्ट्रक्सनले पनि काम सकेको छ। यस्तै डडेल्धुरा-उग्रतारा-मेलौडी सडकखण्डमा १५ करोड बजेट विनियोजन गरिएको छ। वहुवर्षीय ठेक्का भएकाले यो आर्थिक वर्षमा यो सडकको प्रगति १५ प्रतिशत मात्रै छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.