|

तनहुँ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो। 

कोभिड-१९ को संक्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए। म्याद सकिए पनि निर्माण कम्पनीले सडक विस्तार कार्य नरोकेपछि गत वैशाखदेखि लागू हुने गरी म्याद थप गरिएको उनले बताए। थप गरिएको समयावधि २०८१ भदौ मसान्तमा सकिने छ। 

‘सम्झौता सकिए पनि सडक विस्तार कार्य गरिरहेको पायौँ’, प्रमुख इन्जिनियर यादवले भने, ‘त्यसैले पाँच महिनाको समय थप गरेका हौँ।’ जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब ७०० मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ। पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ। 

२०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो। सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादी नदीको पुलबाहेक ६ अर्ब २१ करोड रुपैयाँमा ठेक्का पाएको हो। मादी नदीमा घ१५ मिटर लम्बाइको पुल निर्माण गर्न एक अर्ब २१ करोड रुपैयाँ लागतमा छुट्टै ठेक्का लगाइएको छ। यो खण्डमा भत्काउनुपर्ने ५०५ घरमध्ये अधिकांश भत्काइसकिएको आयोजनाले जनाएको छ। 

पश्चिम खण्डअन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब २० किलोमिटर खण्डमा ६ लेन रहने गरी ४६ मिटर फराकिलो, जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडकखण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए। सात अर्ब ४० करोड ४६ लाखको लागतमा निर्माण गर्न २०७८ जेठमा पश्चिम खण्डको ठेक्का सम्झौता चिनिया ठेकेदार कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजसँग भएको हो। 
                            
एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याज ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो। अधिकांश क्षेत्रमा सडक दुईतर्फी २५ मिटरको हुनेछ। बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ भने तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा ४१ मिटर फराकिलो हुनेछ। 

अति जनघनत्व रहेका क्षेत्र दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.