|

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३  केभी लाइन उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख दाहालले विद्युत् आपूर्तिमा रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताहरूबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन भएको बताए।  

चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने कार्य गर्न आग्रह गरे।

भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन निर्माण भरतपुर महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुंगा साबित हुने बताए।

चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजंग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा भरतपुर महानगरपालिका हुने विद्युत भागमा प्रक्षेपण गरी २४ सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए।

भरतपुर महानगर क्षेत्रमा भइरहेको तिब्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनले बातए। 

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् माग बमोजिम आपूर्ति दिन नसकेर त्यस क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको देवनगर सबस्टेसन बनेपछि अन्त्य भएको उल्लेख गरे।

उनले अब त्यस क्षेत्रमा माग बमोजिम गुणस्तरीय र पर्याप्त विद्युत दिन सकिने बताए।

देवनगर सबस्टेसनबाट भरतपुर महानगरपालिका ५, ६,८, ९,१३,१४,१५,२२ र २३ नम्बर वडाहरूमा विद्युत् आपूर्ति दिइएको छ। सबस्टेसनमा  २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको जसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.