|

बैतडी : बैतडीको देहिमाडौँमा जारी बृहत् अन्तरपालिका भलिबल प्रतियोगितामा महिलातर्फ  सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ।

महिलातर्फ समूह ‘ए’बाट दशरथचन्द नगरपालिका ‘ए’, समूह ‘बी’बाट मेलौली नगरपालिका, समूह ‘सी’बाट पुर्चौडी नगरपालिका र समूह ‘डी’बाट शिवनाथ गाउँपालिका सेमिफाइनलमा पुगेको जिल्ला खेलकुद समितिका भलिबल प्रशिक्षक हरि भण्डारीले जानकारी दिए। सेमिफाइनल खेल आइतबार हुनेछन्। 

पहिलो सेमिफाइनलमा दशरथचन्द नगरपालिका ‘ए’ र पुर्चौडी नगरपालिका तथा दोस्रो सेमिफाइनलमा मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाबीच भिडन्त हुनेछ। 

पुरुषतर्फ लिग चरणका खेल चलिरहेका छन्। आइतबार लिग चरणका खेल सम्पन्न भएपछि क्वार्टरफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ।

नेपाल खेलकुद महासंघको आयोजनामा शुरु भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोली सहभागी छन्। 

प्रतियोगितामा प्रथम हुनेलाई ७७ हजार ७७७ रुपैयाँ पुरस्कार रहेको छ। दोस्रो हुनेलाई ५५ हजार ५५५ रहेको छ भने तेस्रो पुरस्कार ४४ हजार ४४४ र सान्त्वना पुरस्कार ३३ हजार ३३३ रहेको छ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए। 

प्रतियोगिताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.