|

ढाका : बंगलादेशको कुष्टिया जिल्लाका मासूम अली (परिवर्तित नाम) गत जनवरीमा मजदुरीका लागि मलेशिया गएका थिए। दुई महिनासम्म कुनै काम नपाउँदा उनले एकबाट अर्को दलाल हुँदै कैदीजस्तै कष्टकर दिन गुजार्नुपर्‍यो।

तीन महिनापछि मासूमले एउटा कम्पनीमा काम पाए तर उनको पासपोर्ट र अन्य सबै कागजात खोसियो। त्यति वेला उनी आफूमाथि भएका सबै घटना घरमा रहेकी श्रीमती रत्ना बेगमलाई भन्ने गर्थे। कामको दबाव असह्य भएको उनी सुनाउँथे। रत्नाका अनुसार मासूमले बिहानदेखि आधा रातसम्म काम गर्नुपर्थ्यो भने खानेपिउने कुनै ठेगान थिएन, लगातार काम गर्दा पनि गाली गलौज र कुटपिट गरिन्थ्यो।

असह्य भएपछि भाग्ने प्रयास पनि सफल हुन सकेन र उनीमाथि शारीरिक अत्याचारको सिलसिला सुरु भएको थाहा पाएकी रत्नाले पछिल्लो एक महिनादेखि पति सम्पर्कविहीन भएको बताइन्। ​गत महिना अचानक रत्नालाई श्रीमान्‌को फोन आयो। आफूमाथि निकै कुटपिट भएको र कानबाट रगत बगिरहेको बताउँदै आफूलाई बचाउन गुहार गरेका मासूम त्यसपछि सम्पर्कविहीन छन्। मलेशियामै काम गरिरहेका मासूम अलीका एजेन्टलाई पनि उनको बारेमा कुनै जानकारी छैन। 

बंगलादेशको राजधानी ढाकाबाट ८ महिनाअघि मन्नान मिया (परिवर्तित नाम) सँग एकै कम्पनीमा काम गर्न एउटै जहाज चढेर ३५ जना गएका थिए। त्यहाँ जानुअघि रोजगारदाता एजेन्सीसँग गरेको सम्झौतामा कम्पनीको नाम र पाउने तलब तोकिएको थियो तर मलेशिया पुगेपछि सम्झौतालाई लागू गरिएन। ती सबैलाई दुई–दुई लाख टाकामा विभिन्न कम्पनीमा बेचिदिएको र भनिएको भन्दा निकै कम तलबमा काम गराइएको बिबिसीले उल्लेख गरेको छ। ‘हामीलाई मासिक ५० हजार टाका दिने भनिएको थियो तर २५ हजार मात्र दिइयो’‚ मन्नानले भने‚ ‘तीन महिनापछि कम्पनीका सुपरभाइजरसँग ओभरटाइम र तलबभत्ताको प्रश्न उठाउनेबित्तिकै फलामको छडले हिर्काउन सुरु गरे। कुटपिटका कुरा बाहिर लगे मारिदिने या बंगलादेश फर्काइदिने धम्की दिए।’ उनीसहित ७ जना त्यस कम्पनीबाट भागेर अर्को कम्पनीमा गए तर उनीहरूसँग कुनै वैध कागजात थिएन जसका कारण अहिले उनीहरू प्रहरीले पक्राउ गर्ने त्रासमा छन्। 

हरेक वर्ष बंगलादेशबाट लाखौं मानिस मजदुरीका लागि मलेशिया जान्छन्। मलेशियामा मजदुरी गर्न बंगलादेशबाट करिब १४ लाखभन्दा बढी मानिस गइसकेका अनुमान छ। त्यहाँ पुगेका कैयौँ मजदुरमाथि धोका र मानवअधिकार उल्लंघनका घटना हुने गरेको आरोप लाग्दै आएको छ। पछिल्ला घटनालाई लिएर संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयसँगै घरेलु र विदेशी अन्ताराष्ट्रिय संगठनले चासो बढाएका छन्।   

मलेशिया पुग्नेबित्तिकै बंगलादेशी मजदुरले सम्झौतानुसारको काम नपाउनु हो। त्यसपछि तोकिएको भन्दा निकै कम तलब पाउनु, पासपोर्ट र भिसा खोसिनु जस्ता समस्याबाट गुज्रनुपर्छ। एजेन्सीका मानिसहरूले भिसाको औपचारिकता पूरा गर्ने नाममा उनीहरूको पासपोर्ट लिन्छन् र फिर्ता दिँदैनन्। धेरैजसो भुक्तभोगीले पासपोर्ट र भिसा पुनः हासिल गर्नका लागि ७० हजारदेखि एक लाख टाका अतिरिक्त शुल्क बुझाउनुपरेको बताए। त्यतिमा मात्र उनीहरूको कष्ट सकिदैन‚ धेरैजनालाई एउटै सानो कोठामा कोचेर राख्ने र दिनमा दुईपटक मात्र, थोरै खाना दिने अनि अत्याचार गर्ने गरेको आरोप छ। 

क्वालालम्पुरमा बस्दै आएका एक आप्रवासी मजदुरले धेरैजस्तो मजदुरलाई बन्धक जस्तै अवस्थामा राखिने बताएका बिबिसीले उल्लेख गरेको छ। मजदुर पठाउने वा बोलाउने अनुमतिप्राप्त बंगलादेश र मलेशियाका कम्पनीहरूका लागि व्यापारमात्र भएको आरोप लाग्दै आएको छ। ‘५० जना मजदुरलाई काम दिने क्षमता भएकाले सात सय मजदुरलाई बोलाइरहेका छन्। तिनीहरूको क्षमताको जाँच किन गरिदैन। हामी सबै यहाँ बन्धक हौँ’‚ ती मजदुरले भने। खालेक नाम बताएका अर्का बंगलादेशीले पनि सम्झौतामा तय भएको कम्पनीमा काम नपाएपछि गैरकानुनी रूपमा बन्धक जस्तो अवस्थामा बस्नुपरेको बताए। बिबिसीले जनाएअनुसार उनले मलेशिया पुग्न करिब ६ लाख बंगलादेशी टाका खर्च गरेका थिए। 

बंगलादेशबाट सन् १९७६ देखि मजदुरीका लागि संसारभरका विभिन्न देशमा जान थालेका हुन्। ब्यूरो अफ म्यानपावर, इम्प्लोएमेन्ट एन्ड ट्रेनिङ (बीएमईटी) को आँकडाअनुसार सन् १९७६ देखि २०२३ सम्म बंगलादेशबाट १ करोड ६० लाख व्यक्ति विभिन्न देशमा मजदुरीका लागि गएका छन्। तीमध्ये सबैभन्दा धेरै करिब ५७ लाख साउदी अरब गएका छन्।

यसअतिरिक्त संयुक्त अरब इमिरेट्समा २६ लाख र ओमानमा १८ लाख बंगलादेशी मजदुर पुगेका छन्। त्यसपछि मलेशियामा १४ लाखभन्दा धेरै बंगलादेशका मजदुर छन्। २०२३ मा मात्र बंगलादेशबाट ३ लाख ५१ हजार आप्रवासी मजदुर मलेशिया पुगेका बीएमईटीले जनाएको छ। गत वर्षदेखि नै मलेशियामा बंगलादेशी मजदुरहरूले काम नपाएका, उनीहरूमाथि अत्याचार गरिनुका साथै बेपत्ता पारिएका जस्ता आरोप लाग्न थालेको बिबिसीले जनाएको छ।

मलेशियामा रहेका बंगलादेशी मजदुरको दुर्दशाका तस्वीर मलेशियाकै मूलधारका मिडिया र मानवअधिकारवादी संगठनहरूको रिपोर्ट चर्चाको विषय बन्यो। रिपोर्टहरूमा बंगलादेशका हजारौँ मजदुर त्यहाँ अमानवीय जीवन बिताइरहेका, कम ज्यालामा काम गर्नुपरेका, बेरोजगार बस्नुपरेका, अत्याचार र गैरकानुनी स्थितिमा फसेका जस्ता मामिला आएका थिए। 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार संगठनले यस सम्बन्धमा चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघका विशेष प्रतिवेदक टोमोया ओबोकाटाले भने, ‘मलेशियामा रहने बंगलादेशी मजदुरको विद्यमान परिस्थिति चिन्ताको विषय हो। धोकाधडी र पैसा असुल्ने विषयमा दुवै देशमा एक सक्रिय संगठित आपराधिक गिरोह संलग्न छन्।’ मजदुरलाई दुर्व्यवहारको शिकारबाट बचाउन दुई देशका सरकारले मजदुर नियुक्तिको पूरै प्रक्रिया परिवर्तन गर्नुपर्ने उनले बताए। 

बंगलादेशका उच्चायुक्त शमीम अहसनले बिबिसी बाङलासँगको अन्तरवार्तामा यस्ता आरोप आइरहेको स्वीकार गर्दै यो नयाँ नभएको बताए। यस्ता मामिलाको समाधान खोजिरहेको भन्दै उनले कानूनी रूपमा वैध कम्पनीहरूको अनैतिक आचरण र प्रतिबद्धता पूरा नगरेका कारण यस्ता घटना भइरहेको बताए। दूतावास एक्लैले समस्या समाधान गर्न नसक्ने भन्दै उच्चायुक्त अहसनले भने, ‘मलेशियाली रोजगारदाता पनि इमान्दार हुनुपर्छ। उनीहरूलाई कानुनको दायरामा ल्याउने काम मलेशिया सरकारको हो। रोजगारदाता कम्पनीमा आवश्यकताभन्दा धेरै भिसा हासिल गर्ने प्रवृत्ति छ‚ त्यो मजदुरमाथि हुने धोकाको मुख्य कारण हो।’

यस मामिलामा मलेशियाको श्रम मन्त्रालयसँग कुरा भइरहेको र  दुई देशबीच हुने सचिवस्तरीय आगामी बैठकमा पनि उठाइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.