हेटौंडा : बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री रमा आले मगरले आज कार्यभार सम्हालेकी छिन्। गत १९ चैतमा मन्त्री नियुक्त आलेले ४९ औँ दिनमा कार्यभार सम्हालेकी हुन्।
हेटौंडा–६ गौरीटारस्थित प्रदेश खेलकुद परिषद्को प्रांगणमा रहेको युवा तथा खेलकुद मन्त्रालयमा आइतबार दिउँसो २:३० बजे मन्त्री आलेलाई स्वागत गरिएसँगै उनले कार्यभार सम्हालेकी हुन्।
कार्यभारसँगै मन्त्री आलेले आगामी दिनमा खेलकुदका लागि तयार भएको पूर्वाधार र पर्यटनलाई सँगै लगेर काम गर्ने निर्णय गरेको बताएकी छिन्।
सत्ता गठबन्धनसँगै नेकपा एकीकृत समाजवादीकी नेतृ आले चैतमै मन्त्री बने पनि कुनै मन्त्रालय नभएपछि उनलाई विनाविभागीय मन्त्री बनाइएको थियो। उनलाई जिम्मेवारी दिन माओवादी नेतृ कुमारी मोक्तानले सम्हालिरहेको सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो।
भाडाको घरमा मन्त्रालय राख्न मन नलागेकाले सरकारले लगानी गरेको ठाउँलाई उपयोग गर्न मन्त्रालय गौरीटारमै राखिएको उनले बताएकी छिन्। ‘युवा तथा खेलकुदका क्षेत्रमा सरोकारवालासँग सहकार्य गरेर अघि बढ्नेछु। नीति तथा योजना सँगै अघि बढेर बागमती प्रदेशको खेलकुद तथा युवा विकासलाई गतिमा लग्ने प्रयत्न गर्नेछु’, उनले भनिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।