|

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पूर्वहितैषी हुन्। सञ्चारकर्मी हुँदै राजनीतिमा उदाएका उनीहरू कुनै समयका सहकर्मीसमेत हुन्।  

इमेज एफएम (तत्कालीन केएटीएच एफएम) मा सँगै काम गर्दा रविले स्नेहपूर्वक भाइ भनेर बोलाउँथे भने गगनले पनि सम्मानपूर्वक दाइको साइनो लाउँथे। समयक्रमसँगै गगन पूर्णकालीन राजनीतिमा होमिए भने रविले टेलिभिजनमार्फत सञ्चारकर्मलाई नै निरन्तरता दिए। 

सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर रविले गिनिज बुकमा विश्व कीर्तिमान बनाए। त्यसपछि उनको चर्चा चुलियो। न्युज २४ कै ‘सिधा कुरा जनतासँग’ कार्यक्रममार्फत रवि चर्चाको थप उचाइमा पुग्न सफल भए। 

तर रविले बीचमा करिब एक दशक अमेरिकामा बिताए। उनले अमेरिकी नागरिकता र पासपोर्टसमेत लिएका थिए। पछि अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिएका हुन्।

रविले नेपाल–अमेरिका ओहोरदोहोर गर्दै गर्दा निरन्तर राजनीतिमै रहेका गगनले पनि राजनीतिक उचाइ चुम्दै गए। नेपाल फर्किएपछि पनि सञ्चारकर्मलाई निरन्तरता दिइरहेका रविसँग उनको राम्रो दोस्ती थियो।

आफ्नो हितैषीलाई २०७० मै कांग्रेसमा भित्र्याउने प्रयास गगनले नगरेका होइनन्। समानुपातिक सूचीमा पार्टीको तर्फबाट गगनले बनाएको प्रस्तावित १० जनाको सूचीमा रवि अटाएका थिए। तर उक्त प्रस्ताव पार्टी सभापति सभापति शेरबहादुर देउवाको नजरअन्दाजमा पर्दा रवि कांग्रेस बनेनन्। 

अहिले रवि राष्ट्रिय दल रास्वपाको नेतृत्वमा मात्रै छैनन्, उनले देशको उपप्रधान तथा गृह मन्त्रालय सम्हालिरहेका छन् भने गगन देशको वर्तमान सबैभन्दा ठूलो दल कांग्रेसको महामन्त्री हुन्। सञ्चारकर्मका पूर्वसहकर्मीहरू गगन–रवि अहिलेका राजनीतिक प्रतिस्पर्धी हुन्।    

राजनीतिक प्रतिस्पर्धी बनेपछि पनि शुरुका दिनमा गगन–रविको मित्रताको चर्चा विभिन्न कोणबाट हुन्थे। ०७९ को आमनिर्वाचनमा गगन उम्मेदवार रहेको काठमाडौँ–४ मा रविको रास्वपाले उम्मेदवारी नै दिएन।

शुरुमा अरुण श्रेष्ठलाई उम्मेदवार बनाएको उसले उनलाई ‘ब्याक’ गराएपछि उनीहरूको मित्रताकै कारण भित्री समझदारी भएको चर्चा भएको थियो। ०८० वैशाखको उपनिर्वाचन अघिसम्म पनि गगन–रवि सम्बन्ध ठिकठाक नै थियो।  

तर कुनै समय गगननिकटका स्वर्णिम वाग्लेले गगनको साथ छोडेर रवि नेतृत्वको रास्वपामा प्रवेश गरे। त्यसयता गगन–रविबीचको सम्बन्धमा दरार शुरु भएको घटनाक्रमहरूले देखाउँछन्।

चर्चाअनुसार गगन स्वर्णिमलाई निकै रुचाउँथे। उनका नजरमा सम्भावना बोकेका एक प्रिय विज्ञ थिए स्वर्णिम। तर विज्ञ विश्वासपात्र नै प्रतिस्पर्धीले खोसेपछि गगन-रवि सम्बन्ध बिग्रेको देखिन्छ। 

अहिले गगन–रवि एकअर्काका देखि नसहने प्रमुख राजनीतिक शत्रु बनेका छन्। २१ फागुन ०८० मा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण फेरेयता उनीहरूबीचको तिक्तता थप चुलिएको छ।

गगन–रवि सामाजिक सञ्जालदेखि संसद् र सार्वजनिक मञ्चहरूमा आमनेसामने हुने गरेका छन्। उनीहरूले एकले अर्कालाई तथानाम चुनौती दिइरहेका छन्, जुन क्रम रोकिने छाँटकाँट देखिएको छैन। 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रविको संलग्नता रहेको दावी गर्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। महामन्त्री गगनकै कारण यो अडानमा कांग्रेस थप दरिलो गरी उभिएको छ। यही विषयलाई लिएर गगन–रवि दूरी फराकिलो हुँदै गएको छ। 

कांग्रेसको अवरोधका कारण सदनमा बोल्नसमेत नपाइरहेका गृहमन्त्री रविलाई आइतवार भने बोल्ने अवसर जुर्‍यो। त्यस क्रममा उनले गगन र कांग्रेसलाई नै मुख्य निशाना बनाएर आक्रोश पोखे।

बाख्रापालन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति, देशका संवेदनशील सूचना विदेशीलाई बेचेको जस्ता आरोप उनले कसैको नाम नलिई गगनमाथि थोपरे।

कांग्रेसका अन्य नेताको नाम मुछिएका कुनै पनि प्रकरण छुटाएनन्। उनले त्रि-चन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेबसाइट डिजाइन, रातो पासपोर्ट, वाइडबडी जहाज, नक्कली भुटानी शरणार्थी, टीकापुरको जग्गाको प्रसंग उठाए। 

‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ। २/३ वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई पनि बाहिर पठाऔँ, संसदबाट हटाऔँ’, उनले भने, ‘जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस्।’

अन्तिममा उनले प्रश्न गरे, ‘के हामीले यस्ता विषयमा पनि छानबिन गर्नुपर्ने हो? आज ममाथि छानबिन हुने हो भने यी विषयमा पनि छानबिन किन नहुने?’

गृहमन्त्री रविले बोलिसकेलगत्तै सदनमै जवाफ दिन चाहेको कांग्रेसले समय नपाएपछि संसद् भवन परिसरमै पत्रकार सम्मेलन गरेर जवाफ फर्कायो। पत्रकार सम्मेलनमा महामन्त्री गगनले धम्की नदिई धमाधम फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिए।

‘गृह मन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो नि। हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्वपूर्ण जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘मैले उहाँले भन्दै गर्दा यसो सुनेको थिए– म तेरो फाइल खोलिदिऊँ, म तेरो अनुसन्धान गरिदिऊँ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु! अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र? गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो। धमाधम अनुसन्धान गर्ने हो। त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो। फैसला गराउने हो, कार्यान्वयन गराउने हो।’

पछिल्लो समय गगन–रवि वाक युद्ध पार्टीगत मात्र नभई व्यक्तिगत तहमा ओर्लिएको देखिन्छ। सार्वजनिक पदमा रहेका दुवैबाट उक्त तहको वाद प्रतिवाद हुनु विकृत राजनीतिको परिणाम भएको विश्लेषकहरू बताउँछन्। 

‘यो भनेको के हो भने राजनीति जति खराब हुन्छ पात्रहरू पनि उत्तिकै खराब हुँदै जान्छन्। त्यसो हुनाले राजनीति नै टिप्पणी गर्न लायक नभएपछि त राजनीति जहाँ छ त्यहीँ पुग्ने भए नि पात्र पनि‚’ विश्लेषक मुमाराम खनाल भन्छन्, ‘फोहोरमा गएर फलेको फल टिप्नलाई फोहोरमै जानुपर्छ, त्यहाँ जाँदा फलमात्रै होइन, मान्छे नै फोहोरी हुन्छ। अहिले उहाँहरू (गगन–रवि)ले जे गरिरहनुभएको छ, सार्वजनिक पद धारण गरेकाले त अझ गर्न हुने कुरै होइन त्यो। यो सस्तो लोकप्रियताका लागि गरिने कुराहरू हुन्।’

अहिले सांसद सांसदजस्ता नरहेका, मन्त्री मन्त्री जस्तो र प्रधानमन्त्री प्रधानमन्त्री जस्तो नरहेको खनालको बुझाइ छ। ‘यी सबै एकै किसिमका भए। यी बराबर स्तरका भए’, उनी भन्छन्, ‘राजनीतिमा प्रतिस्पर्धा हुनुपर्छ तर अहिले एकदमै तल्लो स्तरको प्रतिस्पर्धा देखियो।’

अर्का विश्लेषक एवं अध्येता पिताम्बर भण्डारीको बुझाइ पनि खनालसँगै मिल्दो छ। समग्र नेपाली राजनीतिको वातावरण नै घृणित र द्वेष फैलाउने किसिमको हुँदै गएको उनी बताउँछन्। 

भण्डारी भन्छन्, ‘कोही पात्रभन्दा पनि समग्र नेपाली राजनीतिको अहिलेको वातावरण नै समन्वयभन्दा पनि राजनीतिक घृणा, वितृष्णा र द्वेष फैलाउने खालको देखिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.