चालक समातिएपछि चेतावनीसहितको स्टेटस

|
फाइल

काठमाडौँ : काठमाडौँमा आज एउटा विषय सनसनी भयो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले फोहोर बोक्ने गाडी चालक पक्राउ परेको भन्दै उनीहरूलाई स-सम्मान रिहा नभएसम्म सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिए।

भ्रष्टलाई समाउन नसकेको तर काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाएको भन्दै उनले फेसबुकमा लेखेका थिए,  ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन, कोको जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोड्दिन।’

यो विषय काठमाडौँको फोहर विसर्जन हुने स्थान बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न भएको अवरोधसँग जोडिएको हो। त्यहाँ स्थानीयबासीले फोहर फाल्न अवरोध गरेपछि लहरो तन्किँदै यहाँसम्म आइपुगेको हो।

शनिवारदेखि बञ्चरेडाँडामा रोजगारीको माग गर्दै एउटा समूहले आन्दोलन थालेका थिए। उनीहरुले फोहर विसर्जनमा रोक लगाए। फोहर बोकेका गाडी आउन दिएनन्। त्यसवेला गाडीमा क्षति पनि भएको बताइएको छ। 

जागिर नदिएसम्म फोहोर लैजाने गाडी जान नदिने भन्दै स्थानीय युवाले फोहोर लानबाट रोकेका हुन्। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानाले स्थानीय युवाहरुले फोहर रोकेको पुष्टी गरेका छन्।

अनि समस्या समाधानका लागि सहजीकरण गर्न अनुरोध गरे पनि प्रहरीले सहयोग नगरेको आरोप महानगरको छ। त्यसपछि आक्रोसित भएका बालेनले आज सोमवार विहान महानगरपालिकाको फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पठाए। 

त्यसरी गाडी गएको कुरा प्रधानमन्त्री कार्यालय र गृहमन्त्री कार्यालयमा पनि जानकारी गराइएको थियो। उक्त सूचना पाएको प्रहरीले गाडीलाई रोके। त्यसपछि फर्काएर टेकु ल्याए, जहाँ प्रारम्भिक रुपमा फोहर लगेर थुपार्ने गरिएको छ। 

नेपाल प्रहरीका प्रवक्त, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जहाँ फोहर विसर्जन गर्नुपर्ने हो, त्यहाँ गएको पाइएन, अन्यत्र गएपछि फोहरले प्रदूषण बढाउने भयो, त्यसैले प्रहरीले स्वास्थ्य तथा शान्ति सुरक्षालाई ख्याल गरेर जहाँ विसर्जन गर्नुपर्ने हो त्यहाँ पठाएको बताए। 

उनले घुमाउरो पारामा घटना विवरण बताए पनि कुरो प्रष्टै थियो, बालेनले पार्टी कार्यालयमा फोहर विसर्जन गराउने योजनामा गाडी पठाएका थिए। प्राप्त जानकारी अनुसार रास्वपा कार्यालमया गएको गाडीलाई प्रहरीले बीचैबाट फर्काएको थियो भने, माओवादी कार्यालय गएको गाडी पार्टी कार्यालय गेट पेरिसडाँडामा भेटेको थियो। त्यहाँबाट ४ जना चालकलाई नियन्त्रणमा लिइएको थियो। पछि टेकुमा फोहर पुर्‍याएर चालकलाई पनि प्रहरीले छाड्यो। 

उक्त सूचना पएपछि बालेनले अर्को स्टेटस लेखे, 'फोहोरको गाडी चलाउने चालकलाई ससम्मान छाडेको खबर पाएँ, जो कोहीले यत्ति बुझ्नुहोला। पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ। अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला।'
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.