|

काठमाडौँ : सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित २१ जना मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक गर्‍याे। सार्वजनिक भएको सम्पत्ति विवरणमा दुईजना मन्त्री बाहेक अन्य प्रधानमन्त्री सहित १९ मन्त्रीहरूसँग सुन रहेको खुलाएका छन्।

ती विवरण हेर्दा मन्त्रीहरूसँग ८१८ तोला सुन रहेको देखिएकाे छ। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनले भने सुन रहेको खुलाएका छैनन्। 

कुन मन्त्रीको कति सुन ?

प्रधानमन्त्री प्रचण्डले ५ तोला सुन रहेका खुलाएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ४३ तोला, गृहमन्त्री रवि लामिछानेले ८० तोला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ५ तोला सुन रहेको खुलाएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले करिब ३० तोला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ६ तोला र सञ्चारमन्त्री रेखा शर्माले पनि ६ तोला सुन रहेको खुलाएका छन्। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग २३ तोला, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहसँग १० तोला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग १० र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग ६ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ६ तोला, खानेपानीमन्त्री राजेन्द्रकुमार राईले १० तोला, रक्षामन्त्री हरिप्रसाद उप्रेतीले २५ ताेला, शहरी विकासमन्त्री धनबहादुर बुढाले १५० तोला सुन रहेको खुलाएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग १५० तोला, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग ११ तोला, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला रहेकाे सम्पत्ति विवरणमा खुलाएका छन्।

सबैभन्दा बढी सुन भने वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीकाे रहेकाे देखिएकाे छ। उनले १५८ तोला सुन रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.