|

काठमाडौँ : चीनको सहयोगमा चक्रपथको कोटेश्वर–कलंकी खण्डमा ८ लेन विस्तार भएपछि चक्रपथको दोस्रो सडकखण्ड पनि विस्तार गर्ने योजना बन्यो। सोही योजनाअनुरूप सडक विभागले चक्रपथको दोस्रो सडकखण्ड कलंकी–महाराजगञ्ज–धोबीखोला (चाबहिल) पनि ८ लेनमा विस्तार गर्न २०७६ सालको दशैँअगाडि देखि नै कलंकीबाट रूख काट्न शुरु गर्‍यो।

समयमा सडक विस्तार शुरु हुने र काम सकिने अपेक्षा लिइएको थियो तर उक्त काम थालिएको पाँच वर्ष बितिसक्दा पनि चक्रपथको दोस्रो सडकखण्ड विस्तारको काम अलपत्र छ। यतिखेर उक्त सडकखण्डमा कतै काटिएका रूखका बुट्टा छन् कतै खाल्डैखाल्डा।

केही ठाउँ गाडी पार्किङ गर्ने थलो बनेको छ। पानी पर्दा हिलाम्मे हुने गरेको छ भने घाम लाग्दा धुलोले अँध्यारो हुने गरेको छ। यसबाट सर्वसाधारण आजित छन्। 

चीनकै सहयोगमा बन्न लागेको उक्त सडक खण्डको २०७८ सालमै चिनियाँ प्राविधिक टोलीले स्थलगत अध्ययन पनि गरिसकेको थियो तर हाल केही ठाउँमा ढल निर्माण काम बाहेक अरू काम अघि बढेको देखिँदैन। मुआब्जा विवाद पनि कायमै छ।

कलंकीदेखि धोबीखोलासम्म ११ किलोमिटर ६०४ मिटरको सडकखण्ड पनि पहिलो चरणको चक्रपथजस्तै ८ लेनमा नै विस्तार गर्ने योजना सरकारको छ। 

काम ढिलाइ भएपछि बालेन आक्रोशित, दिनकै धुलाे उपहार पठाउने

लामो समयदेखि ढिलाइ भएको उक्त सडक खण्डले पछिल्लो समय पुन: चर्चा पाएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सम्बन्धित निकायमा हिजो धुलो उपहार पठाएपछि चर्चामा आएको हो। उनले सामाजिक सञ्जालबाटै दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका छन्।

उनले भनेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु!, तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला, विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ, काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ।’

उनले त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा बढी खर्च गर्नुपरेको र गन्तव्यमा पुग्न अबेला भोग्नु परेको पनि बताए। ‘काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ, यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन, जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु‚ माया सम्झेर स्विकार्नु होला’, उनले उल्लेख गरेका छन्।

उनले हिजो (शनिबार) सडक निर्माण नगरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई ट्रकमा धुलो पठाएका थिए। उनले सडक विभाग र सडक डिभिजन काठमाडौंको गेटमा धुलो थुपारिदिएका थिए। उनले दबाव दिएको कार्यको कतिपयले प्रशंसा गरे भने कतिपयले अराजक गतिविधि गरेको भन्दै आलोचना गरिरहेका छन्।

बालनेले धुलो थुपारिदिएपछि सडक डिभिजन काठमाडौंले अराजक व्यावहार भएको र प्रतिकारको चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ’सडक डिभिजन काठमाडौंको कार्य क्षेत्रभित्र भएका त्रुटि औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा जानकारी गराइन्छ।’

सुरक्षित सडक बनाउन माग 

सरोकारवालाहरूले अब बन्ने नयाँ चक्रपथ सडक ‘चक्रपथ सवारीका साथै नागरिकका लागि पनि सुरक्षित बनाइयाेस्’ भनी माग गरेका छन्। उनीहरूले अपांगमैत्री, पैदल यात्रुमैत्री, साइकल लेन राख्ने लगायतका सुरक्षित सडक बनाउन नेपाल साइकल सोसाइटी, सुरक्षित र दिगो यात्रा नेपाल, रोड सेफ्टी सोसाइटी नेपाल लगायत संस्थाहरूले माग गरेका छन्।

त्यस्तै दृष्टिविहीनहरूलाई जेब्रा क्रसिङबारे जानकारी हुन समस्या भएको भन्दै जहाँ जेब्रा क्रसिङ छ त्यहाँ अडियोको व्यवस्था गर्नुपर्ने पनि माग राखेका छन्। 

सडक विभाग भन्छ : अर्थ मन्त्रालयमा डकुमेन्ट पुगिसकेको छ

सडक विभागले चक्रपथको दोस्रो सडकखण्ड विस्तारका लागि सबै सडक रेखांकनको काम सकिसकेको जानकारी दिएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलले सबै काम सकेर डकुमेन्ट अर्थ मन्त्रालयमा पठाइसकेको जानकारी दिए।

उनले भने, ‘यो सडक चीनले बनाइदिने हो, यसका लागि हामीले पाँच महिनाअघि नै सबै  संरचना हटाइसकेका छौँ,कामका लागि हामीले अर्थ मन्त्रालयमा डकुमेन्ट पेश गरेका छौँ। त्यहाँ दुई पक्षबीच वार्ता भइरहेको होला,अहिलेसम्म केही जानकारी आएकाे छैन।’

सल्लाह, सुझावको रूपमा लिएको छु, त्यो सडक बनाउनैपर्छ : महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले महानगरपालिका प्रमुख बालेनको क्रियाकलापलाई सल्लाह सुझावको रुपमा लिएको बताएका छन्। आज आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले उक्त सडकखण्ड निर्माणको काम सरकारले गर्नुपर्ने बताए।

उनले भने, ‘मेयर बालेनका क्रियाकलापलाई मैले व्यक्तिगत रूपमा सुझाव र सल्लाहको रुपमा लिएको छु। त्यसका लागि धन्यवाद दिन्छु,कुनै आपत्ति छैन, मैले अन्यथा लिएको छैन, कलंकीदेखि महाराजगञ्ज सडक सरकारले बनाउनैपर्छ, हामी सल्लाह गर्दै छाैँ।’

उक्त सडक विस्तारकाा लागि आवश्यक पहल गर्ने उनकाे भनाइ छ। न्युरोडमा भइरहेको क्रियाकलाप भने कानुनसम्मत नभएको उनकाे तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.