|

काठमाडौँ : मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ।

सशस्त्र प्रहरी नं २९ गुल्म गोरखामातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतवार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। 

उक्त बिओपी गोरखा सदरमुकामबाट करिब १६४ किलोमिटर उत्तरतर्फ रहेको छ। समुद्री सतहबाट करिब ३ हजार ८७५ मिटरको उचाइमा स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुइला नाका रहेको छ। 

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटना, हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमास्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत काम गर्ने सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि सशस्त्र प्रहरीले चीनतर्फ दार्चुलाको तिङ्कर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङ्गोलासहित ९ स्थानमा बिओपी स्थापना गरिसकेको छ।

सशस्त्र प्रहरीले भारतको सिमानातर्फ २४४ र चीनको सिमानातर्फ १० गरी सीमा क्षेत्रमा कूल २५४ बिओपी स्थापना गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.