|

काठमाडौँ : विश्व मजदुर दिवसको दिनदेखि व्यवस्थित गरिएको 'श्रमाधान कल सेन्टर'मा गुनासो गर्नेहरूको संख्या ह्वात्तै बढेको छ। 

वैशाख १९ देखि हालसम्म गुनासो गर्ने नेपाली श्रमिकको संख्या १३२ प्रतिशतले बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गत २७ दिनमा ७ हजारभन्दा बढी श्रमिकले आफ्नो गुनासो, जिज्ञासा तथा सुझाव राखेको मन्त्रायका सहसचिव गोविन्दप्रसाद रिजालले थाहाखबर जानकारी दिए। 

कल सेन्टरमा वैदेशिक रोजगारसँग सम्बन्धित जिज्ञासा र गुनासो सुनाउन दिनहुँ २ सयभन्दा बढी फोन आउने गरेको छ। नेपालमा भएका श्रमिकको भन्दा बढी विदेशमा रहेका नेपाली श्रमिकको गुनासो कल सेन्टरमा आउने गरेको उनको भनाइ छ। कल सेन्टरमा उद्धार, राहत, बीमा तथा सामाजिक सुरक्षा कोषसँग जोडिने जिज्ञासा तथा गुनासा आउने उनले बताए।

“श्रमाधान कल सेन्टरको स्थापनापछि पहिलेभन्दा १३२ प्रतिशतले गुनासो बढेर आएका छन्, हामीले थप व्यवस्थित पनि बनाउँदै लगेका छौँ”, उनले थपे, “कल सेन्टरमा वैदेशिक रोजगारी ठगी, एउटा कामका लागि भनेर अर्को काममा लगाएको, भने अनुसारको सेवासुविधा नपाएकाजस्ता समस्या लिएर श्रमिकहरूले फोन गर्ने गरेका छन्।”

नेपालमै रहेका श्रमिकले भने वैदेशिक रोजगारीसहित फ्रि भिषा, फ्रि टिकटका बारेमा जिज्ञासा राख्ने गरेका छन्। अधिकांश श्रमिकको गुनासो सम्बोधन भइसकेको दावी सहसचिव रिजालले गरेका छन्। 

सरकारले निश्चित क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सञ्चालनमा ल्याइएका कल सेन्टरहरूमा कहिलेकाहीँ सर्वसाधारणले झुटो विवरण दिएरसमेत फोन गर्ने गरेका गुनासो सुनिने गरेको छ तर, श्रमाधान कल सेन्टरमा हालसम्म यस्तो झुटा फोन नआएको मन्त्रालयले बताएको छ।

श्रमिक दिवसदेखि हालसम्मको अवधिमा ७ हजारभन्दा बढी आएका गुनासामध्ये अधिकांश समाधान भइसकेका उनको भनाइ छ। “केही गुनासाहरु तत्काल समाधान गर्न नसकिने हुन्छ, त्यस्ता किसिमका बाहेक हामीले अधिकांश गुनासा तत्कालै समाधान गरिरहेका छौँ”, उनले भने।

तत्काल सम्बोधन गर्न नसकिने गुनासा तथा समस्याहरू भने सम्बन्धित मुलुकस्थित नेपाली दुतावासलगायतको सहयोगमा समाधानको पहल गरिने उनले बताए।

सोही कार्यक्रमअन्तर्गत नै रहेर मन्त्रालयले सातै प्रदेशमा दुई/दुई दिन श्रमाधान रोजगार मेला–२०८१ को आयोजना गरेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नक्कल गरेको श्रम मन्त्रालयले रोजगारी खोज्नेहरूबीच नवप्रर्वतन र स्वव्यवसाय विकासलाई प्रवर्द्धन गर्न मेला कोसेढुंगा सावित हुने दावी गरेको छ। 

जेठ १७ गते बिहीवारदेखि ३० गतेसम्म हुने मेलालाई काम दिने र काम खोज्नेहरूको बीचको पुलका रुपमा लिन सकिने मन्त्रालयका प्रवक्तासमेत रहेका रिजालले जानकारी दिए।

मेलामा कार्यशाला, मनोपरामर्शलगायतका विविध विषय, सरकारी, निजी, गैरसरकारी क्षेत्रका विभिन्न निकायहरुको श्रम, रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित स्टलहरू रहने छ। मेलामा सहभागी हुन रोजगारदाता र जागिरको खोजीमा रहेका व्यक्तिले अनलाईन आवेदन दिन सक्ने छन्। 

कोशी प्रदेशमा यही १७ र १८ गते, मधेशमा १९ र २० गते मेला सञ्चालन हुनेछ। त्यस्तै, गण्डकीमा २१ र २२ गते, लुम्बिनी २३ र २४ गते, कर्णाली २५ र २६ गते, सुदुरपश्चिम २७ र २८ गते तथा बागमती प्रदेशमा २९ र ३० गते श्रमाधान रोजगार मेला सञ्चालन गर्ने तय भएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.