|

काठमाडौँ : विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर्‍याएको छ। यसअघि उनी भ्रष्टाचारका २ वटा मुद्दामा दोषी ठहर भइसकेका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरु रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले झुटो विवरण पेश गरी भ्रष्टाचार गरेको अभियोगमा पौडेललाई सोमवार दोषी ठहर गरेको हो। 

विशेषले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर्‍याउँदै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको छ। 

विकलले आफ्नो अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेको कुरा ढाँटेर नेपालमा सरकारी सेवामा कार्यरत रहेको ठहर गर्दै उक्त सजाय सुनाएको हो।पौडेललाई भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना र सार्वजनिक संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत रहेकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजाय हुने भन्दै एक वर्ष कैद हुने विशेषको फैसलामा उल्लेख छ।

‘अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधानबमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुनेछैन’, भन्ने संवैधानिक व्यवस्था गरिएको भए पनि उनी झुटा विवरण पेश गरेर सञ्चार मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका कार्यरत रहेको विशेषले ठहर गरेको छ।

विशेषमा उनीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको मुद्दाको फैसला हुन बाँकी नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.