|

खोटाङ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। 

लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दशैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ।

निर्माणाधीन अस्पताल भवनको भुइँतलामा इमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ्ग) सेवा, दोस्रो तलामा वार्ड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ।

११ महिनामा सम्पन्न गर्नेगरी भ्याटसहित १९ करोड ३० लाख ४४ हजार १६४ रुपैयाँ लागतमा श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल निर्माणको जिम्मा लिएको थियो।

प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिला/पुरुष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको निर्माणस्थलमा खटिएका कम्पनीका इञ्जिनियर नवीनकुमार यादवले बताए। 

उनका अनुसार अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै र्‍याम्प भर्‍याङ (ह्वील चेयर गुडाउन मिल्ने भर्‍याङ) निर्माण भइरहेको छ।

भवनको भुइँ र दोस्रो तलामा प्लास्टर सम्पन्न गरेर तेस्रो तलामा इँटा जोड्ने काम शुरु गरिएको इञ्जिनियर यादवले जानकारी दिए। 

“साढे तीनतला अग्लो भवनको अन्तिम तलाको ढलान यही जेठ ६ गते सम्पन्न गरेका छौँ। अहिले दक्ष प्राविधिकसहित ४० जना कामदार खटाएर काम गरिरहेका छौँ”, उनले भने, “संरचनाको काम भइसकेको छ। असार मसान्तभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने योजनाअनुसार तीव्रता दिएका छौँ।”

आगामी साउन १ गतेदेखि रङरोगनको काम शुरु गरेर निर्धारित समयमा भवन हस्तान्तरण गर्नेगरी कामलाई तीव्रता दिइएको इञ्जिनियर यादवले जानकारी दिए। 

विसं २०७९ साउन २६ गते सम्झौता गरी गत माघ २३ सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा काम सम्पन्न नभएपछि आगामी साउन २५ गतेसम्मका लागि पहिलो पटक म्याद थप गरिएको उनको भनाइ छ।

जग्गा विवादका कारण ढिलागरी काम शुरु भएको भन्दै भवन गुणस्तरीय बनाउन, थपिएको मितिमा सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट सहजीकरण भइरहेको गाउँपालिकाका अध्यक्ष गीरेन्द्रबहादुर राईले जानकारी दिए। 

“शुरुमा जग्गा विवादले सम्झौता ढिलो भयो। वर्षाको समयमा सम्झौता भएकाले ठेकेदार कम्पनीले काम गर्न सकेनन्”, उनले भने, “अहिले ६ महिनाको म्याद थप भएको छ। तोकिएको समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ।”

प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कको भवननजिकै निर्माणाधीन अस्पताल विसं २०७७ मङ्सिर १५ गते कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री राजन राईले शिलान्यास गरेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ ५, १० र १५ शय्याका ३०९ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐँसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो।

अस्पतालका लागि स्थानीय पर्शुराज भण्डारीले ३० लाख रुपैयाँ बराबरको ७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए। 

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारी लगानीमा शुरु गरिएको पालिकास्तरीय अस्पतालको काम अन्तिम चरणमा पुग्दा स्थानीय हर्षित भएका छन्।

स्थानीयस्तरमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ। 

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अधिकांश वडावासी अहिले पनि ऐँसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.