विराटनगर : नेपालमा प्रजातन्त्रको बहाली भएसँगै पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ। नेपाली पत्रकारिताको इतिहासमा २००८ सालमा महिला मासिकबाट यस क्षेत्रमा महिला पत्रकारहरूको यात्रा आरम्भ भएको मानिन्छ।
‘महिला मासिक’को प्रकाशन सँगै महिलाहरूलाई यस क्षेत्रमा आबद्ध हुन प्रेरणासमेत मिलेको पनि भन्ने गरिन्छ। आर्थिक, राजनीतिक र सामाजिकलगायत अनेक चुनौती छिचोल्दै पछिल्लो समय यस क्षेत्रमा महिला सहभागिता बढ्ने र सँगसँगै पलायन हुने क्रम पनि उत्तिकै छ।
भोजपुरकी दृश्य दिव्य राई ५ वर्षदेखि संखुवासभालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएकी छिन्।
भोजपुरमा जन्मेकी उनी उच्च शिक्षाका लागि संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी आएको सुनाइन्। पढाइको शिलशिलामा रेडियो तालिम लिएर सञ्चार क्षेत्रमा आबद्ध भएकी उनले पछिल्लो समय यो क्षेत्रबाट नै बिदा हुने सोचमा रहेको दुखेसो पोखिन्।
रेडियोबाट आरम्भ भएको उनको पत्रकारिता यात्रा गोरखापत्र दैनिकमा ११ महिनासम्म काम गरेर बिट मार्ने तयारीमा रहेको उनी बताउँछिन्। राजनीतिक समीकरण बदलिएसँगै गोरखापत्रबाट पनि उनले यात्रा टुंगो लगाउनु परेको सुनाइन्।
ऊर्जाका साथ यसै क्षेत्रमा केही गर्छु भन्ने सोचले पत्रकारिता क्षेत्रमा अगाडि बढेकी उनी आर्थिक पाटोको मुख्य चुनौतीसँगै सामाजिक र राजनीतिक पाटोले पनि नराम्रोसँग गिजोलेको उनी बताउँछिन्।
‘गोरखापत्रमा ११ महिना काम गर्ने अवसर पाएँ, त्यहाँबाट पनि बिना जानकारी नै जागिरबाट निकाल्यो’, उनले भनिन्, ‘केन्द्रीय सत्ता समीकरण बदलिएसँगै जागिरबाट पनि निस्किनुपर्ने भयो। गोरखापत्रबाट २५ जना निकालिएकामध्ये म पनि एक हुँ।’
पठाएका कति समाचारहरू नछापिने, आफैँले रिपोर्टिङ गरेका कतिपय विषय ‘सिनियर’ हरूले होइन भनेर कार्यालयमा फोन गरेर असहयोग गर्ने जस्ता प्रवृत्तिले पेसाबाट आजित भएको दुखेसो उनले गरिन्।
गोरखापत्रमा काम गर्दै गर्दा हौसला बढेको बताउने उनी अहिले कसैले सहयोग नगरेपछि ‘व्याक’ हुने अवस्थामा पुगेको उनको भनाइ थियो।
जिल्लाको पत्रिकामा लेखे पनि पारिश्रमिक नदिएपछि काम गर्न खासै उत्साहित नभएको बताउने उनी अहिले लोकसेवाको तयारीमा रहेको बताउँछिन्। राम्रो तालिम र विविध अवसरबाट समेत वञ्चित गरिँदा धेरै कुराहरू गुमाउनु परेको उनी बताउँछिन्।
यता, तेह्रथुमकी बबिता राई आर्थिक पाटो चुनौतीपूर्ण रहेको बताउँछिन्। रासस, रेडियो मेन्छ्यायममा कार्यरत राई काम गरेअनुसारको पारिश्रमिक नपाउँदा घरखर्चमा समेत असहज परिस्थिति हुने बताउँछिन्।
मोफसलका सञ्चार संस्थाले समयमा पारिश्रमिक नदिँदा भोलेन्टियरको रुपमा काम गरेझैँ महसुस हुने समेत उनको भनाइ थियो।
आर्थिक पाटो कमजोर भएपछि मानसिक असर पनि पर्ने बताउने उनी यो क्षेत्रमा स्थापित हुन गाह्रो भएपछि अन्य पेसा नै रोज्न बाध्य हुनुपर्ने उनी बताउँछिन्।
महिला र पुरुष समान हैसियत राखेर स्थलगत रिपोर्टिङमा जाँदा मान्छेले गर्ने फरक व्यवहारले पनि हीनताबोध हुने गरेको उनी बताउँछिन्।
समाजले यो काम पुरुषले मात्रै गर्ने हो भनेर वर्गीकरण गरेको जस्तो महसुस हुने हुँदा यो क्षेत्रमा ऊर्जाभन्दा पनि हीनताबोध धेरै भएको उनी अनुभव सुनाउँछिन्। तालिम वा विभिन्न अवसरहरूमा पनि कतिपय अवस्थामा सिनियरहरूले ‘बायस’ व्यवहार गर्ने गरेको उनको थुप्रै भोगाईहरू छन्।
उनी भन्छिन्, ‘अवसर राम्रो भएको तालिम, कार्यक्रममा सिनियर दाइहरू आफैँ जानुहुन्छ, कतिपय ठाउँमा असहज छ तर पछि हट्न नहुने रहेछ।’
प्रविधिले थप चुनौती
लामो समय काठमाडौँलाई कार्यक्षेत्र बनाएर पत्रकारिता क्षेत्रमा अगाडि बढिरहेकी विद्या राई प्रविधिको विकाससँगै महिला र पुरुष दुवै पत्रकारलाई चुनौती बढेको बताउँछिन्।
केही समय अगाडि दक्षिण एसियाको लैङ्गिक संवेदनशील पत्रकारिताबाट सम्मानित भएकी राई खोजमूलक स्टोरी लेखनमा सक्रिय छिन्।
एआई जस्तै नयाँ प्रविधि भित्रिनु महिला र पुरुष दुवैलाई कामको दायरालाई फराकिलो बनाउने अवसर रहेको उनी बताउँछिन्।
प्रविधिमैत्री तालिमहरूमा महिलाहरूलाई कम सहभागी गराउने प्रवृत्तिले गर्दा पत्रकार महिलाहरू सिक्ने अवसरबाट पछि परेको समेत उनी बताउँछिन्।
‘नयाँ प्रविधिहरू प्रयोगमा ल्याउन त्यही क्षमताअनुसारको ल्यापटप, मोबाइल फोन उपकरणहरू र अपडेटेट उपकरणहरू किन्नुपर्ने हुनसक्छ’, उनी भन्छिन्,‘ त्यस्तो अपडेटेट उपकरणमा लगानी गर्न नसक्दा र त्यस्ता प्रविधिहरूको प्रयोगसम्बन्धी तालिममा महिलाहरूलाई कम सहभागी गराउने प्रवृत्तिले गर्दा पत्रकार महिलाहरू सिक्ने अवसरमा पछि पर्छन्। ’
कतिपय अवस्थामा प्रविधिको दुरुपयोगले निम्त्याउने जोखिम र समस्याहरू कसरी समाधान गर्ने भन्ने थाहा पाउँदैनन् जसले गर्दा प्रविधिमार्फत हुने हिंसा र दुर्व्यवहारको उच्च जोखिम पनि हुनसक्ने उनको भनाइ छ।
पत्रकारिता क्षेत्रमा महिला सहभागिता कम र त्यसमा पनि स्थापित गराउन मुख्य चुनौती रहेको नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता बराइली बताउँछिन्।
पार्टीगत र पहुँचको हिसाबले मिडियामा लगानी गर्न लगाउने मिडियाको मालिक सबल हुने तर श्रमिक तलबविहीन हुने प्रवृत्तिले पनि चुनौती बढ्दै गएको उनी बताउँछिन्। त्यसो त प्रविधिको विकाससँगै एआईले पत्रकारिता क्षेत्रमा अझ चुनौती थपेको उनको भनाइ छ।
अबको पत्रकारिता प्रविधिमैत्री हुनुपर्ने र यसका लागि पत्रकार महिलाहरूलाई पनि प्रशिक्षणको आवश्यकता रहेको उनले बताइन्। सामाजिक, लैङ्गिक विभेद भएको नेपालजस्तो मुलुकमा प्रविधिको आगमन र प्रयोगले सबैलाई समान अवसर र समान लाभ दिन्छ भन्ने मान्यता गलत भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष अमरध्वज लामाको बुझाइ छ।
लामा रेडियो नेपालबाट सेवानिवृत्त भएपछि यतिबेला अहिलेका पुस्ताहरूलाई पत्रकारितासम्बन्धी प्रशिक्षण दिँदै आइरहेका छन्।
भौगोलिक असमानता, सामाजिक विभेद, डिजिटल साक्षरताको कमी, अनलाइन माध्यमबाट हुने हिंसा र उत्पीडन जस्ता कुराहरू महिला पत्रकारका लागि प्रविधिको पहुँचमा पुग्न नदिने बाधाहरू रहेको उनको भनाइ छ।
‘यता प्रविधिको पहुँचमा हुने पत्रकार वर्गले ’कृत्रिम बौद्धिकता’ को लाभ लिन लम्किसकेको अवस्था छ,’ उनले भने,‘ एउटा ब्रोड ब्याण्ड र ब्राण्डेड कम्प्युटर पर्खिरहेका सीमान्त भूगोल र समुदायका महिला पत्रकारले त्यो सुविधाको उपभोग कहिले गर्ने? यस किसिमको ’डिजिटल विभाजन’ का कारण महिला र विपन्न तहका पत्रकारमा उत्पन्न हुने मनोवैज्ञानिक संकटतर्फ खासै कसैले बहस चलाएको देखिँदैन।’
यो खाडल मेटाउने मिहिन योजना अघि सार्ने कोही पनि मैदानमा नदेखिएको बताउँदै उनले महिला पत्रकारका लागि सूचनामा पहुँच बढाउने, संकलन र प्रशोधन गर्ने र वितरण गरेर प्रतिस्पर्धी पत्रकार सावित गर्ने कुरामा डिजिटल विभाजनले चुनौती थपेको समेत बताए।
महिला पत्रकारहरूलाई स्थापित गर्ने उद्देश्यले लेखनवृत्ति कार्यक्रमहरू ल्याउने गरेको नेपाल पत्रकार महासंघकी कोशी प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ बताउँछिन्।
अबको पत्रकारिता प्रविधिमैत्री भएकाले चुनौती महिलालाई मात्रै नभएर पुरुषलाई पनि हुने भएकाले पत्रकार महासंघले प्रविधिमैत्री तालिम दिनुपर्ने आवश्यक रहेको उनको भनाइ छ।
पत्रकार महिलाहरूको संरक्षणका लागि राज्यको पनि ध्यान जानुपर्नेमा उनले जोड दिइन्। सुत्केरी अवस्थामा, महिनावारी भएको अवस्थामा सहज तरिकाले काम गर्ने व्यवस्था निजी सञ्चार संस्थाले होस् या सरकारी संस्थाले व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ थियो।
‘सुत्केरी अवस्थामा कति पत्रकार महिलाहरूले जागिर छोड्नु परेको छ, महिनावारी भएको अवस्थामा बिदा बस्दा तलब कटौती गर्दिने समस्या पनि छन्’, उनले भनिन्, ‘यस्तो अवस्थामा निजी होस् या सरकारी सञ्चार संस्थाले बिदा दिनुपर्छ।’
पत्रकार महिलाको सहभागिता कति?
पत्रकार महासंघमा शुद्धिकरणअगाडि १३ हजार ५० जना सदस्य रहेका छन्। यसमध्ये झण्डै १८ प्रतिशत महिला सदस्य रहेका छन्।
कोशी प्रदेशमा शुद्धिकरणभन्दा अगाडि १६ सय १२ जना सदस्य संख्या रहेकोमा शुद्धिकरणपछि ११ सय ५० जना रहेको छ। जसमा महिला २ सय जना रहेका छन्।
यसले पनि पत्रकारिता क्षेत्रमा महिलाहरूको विगत र वर्तमान अवस्थालाई नियाल्न सकिन्छ। अझ पुरुषको तुलनामा संचार संस्थाहरूको नेतृत्व तहमा महिलाको सहभागिता अत्यन्तै न्यून छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।