अञ्जन लगायतका मुख्य खेलाडीको चोटले प्रदर्शनमा चुनौती

|

काठमाडौँ : सन् २०२६ को विश्वकप फुटबलको होडबाट बाहिरिसकेको नेपालले अझै विश्वकप छनोटका २ वटा खेल खेल्न बाँकी छ। 

समूह ‘एच’मा युएई, बहराइन र यमनसँगै रहेको नेपालका लागि बाँकीका दुबै खेल जिते पनि तेस्रो चरणमा पुग्ने सम्भावना मरिसकेको छ। 

नेपालले जेठ २४ गते युएई र जेठ २९ गते यमनसँग खेल्नेछ। दुबै खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद विन फहद रंगशालामा साँझ हुनेछ।
छनोटका अन्तिम २ खेलका लागि नेपाली टोली आउने आइतबार साँझ साउदीतर्फ जाने नेपाली टिमका व्यवस्थापक उत्तमराज भण्डारीले जानकारी दिए। नेपालले यमन र युएईसँग यसअघि एक एउटा म्याच खेलिसकेको छ।

नेपाली घरेलु मैदानमा भएको खेलमा नेपाल यमनसँग २–० ले हारेको थियो भने युएईमा भएको खेलमा पनि नेपाल ४–० ले निराश बनेको थियो।

बहराइनसँग उसकै भूमिमा दुबै खेल खेलेर दुबैको नतिजा नेपालले सुम्पिएको छ।

पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले हारेको नेपालले आगामी २ खेलले नतिजामा फरक नपारे पनि प्रतिष्ठाका लागि पक्कै प्रभाव पार्ने विश्लेषण गरिएको छ। नेपालले कुल १४ गोल खाएर एक गोल पनि गर्न सकेको छैन। 

समूहमा प्रत्येक टोलीले हरेकसँग होम एन्ड अवेका आधारमा २–२ वटा खेल खेल्नुपर्ने भए पनि नेपालले दशरथ रंगशाला तयार नभएको कारण देखाएर घरेलु मैदानमा खेल्नुपर्ने युएईविरुद्धको खेल पनि साउदीमै खेल्न लागेको हो। यसअघि बहराइनविरुद्धको होम म्याच पनि उतै खेलाइएको थियो। 

युएई र यमनसँगको खेलका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ। 

इटालियन प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले टोलीलाई कहिले एन्फा कम्प्लेक्समा त कहिले भद्रकालीस्थित जङ्गी अड्डामा प्रशिक्षण दिइरहेका छन्। 

मुख्य प्रशिक्षक अल्बर्टोले बाँकीका २ खेलले नतिजामा खासै फरक नपारे पनि राम्रो खेल पस्किने बताए। ‘यो हार या जितले विश्वकप छनोटलाई खासै अर्थ राख्दैन’, उनले भने‚ ‘हामी सकेसम्म राम्रो खेल्ने प्रयासमा छौँ, नजिते पनि राम्रो प्रदर्शनमा म विश्वस्त छु।’

नेपाली टिममा अधिकांश युवा र कम अनुभव बोकेका खेलाडी छन्। तैपनि टिममा किरण लिम्बु, भरत खवास , रोहित चन्द, अनन्त तामाङ जस्ता अनुभवी खेलाडी भएकाले मेरो विश्वास र भरोसा उनीहरूमा बढी छ’, उनले भने।

अञ्जन लगायतका खेलाडीको चोटले चिन्ता

नेपाली टोली छनोटको अन्तिम तयारीमा जुटिरहँदा केही मुख्य खेलाडीहरूको चोटले गर्दा खेलको स्तर कता पुर्‍याउला भन्ने चिन्ता बढ्न थालेको छ। बन्द प्रशिक्षणमा रहेका केही खेलाडी नै चोटग्रस्त भएपछि प्रशिक्षक अल्बर्टोले केही नयाँ खेलाडीलाई टिममा बोलाएका छन्। 

टोलीका मुख्य स्टार स्ट्राइकर अञ्जन विष्ट चोटका कारण खेल्न नसक्ने भएका छन्। यही विश्वकप छनोटको अभ्यासका क्रममा गत मार्च ६ मा इङल्याण्डको तेस्रो वैकल्पिक टोलीसँगको प्रतिस्पर्धाका दौरान अञ्जन घाइते भएका हुन्। ​इङल्यान्ड ‘सी’सँगको खेलमा नेपाली टोली २–० गोलले पराजित भएको थियो।

घुँडामा चोट लागेका उनी कम्तीमा २ महिना खेल्न नसक्ने भएका छन्। बिष्टलाई चिकित्सकले रिहाबमा बसेर दुई महिना आराम गर्न भनेको टिम म्यानेजर भण्डारीले जानकारी दिए।

सन् २०१४ देखि खेल्दै आएका अञ्जनले ६५ क्यापमा १३ गोल गरिसकेका छन्। उनी सिनियर नेपाली राष्ट्रिय टोलीका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनीसँगै निराजन रायमाझी र हरि खड्काले पनि समान १३–१३ गोल गरेका छन्। 

यसैगरी स्ट्राइकर दिनेश हेन्जन र मिडफिल्डर उत्सव राई पनि टिममा नहुने पक्का भएको छ। घुँडामा चोट भएका कारण दिनेशको अप्रेसन गरिएको छ। 

इङल्याण्डमा अभ्यास खेल सकेर आएको केही दिनमै अभ्यास गर्ने क्रममा उनको घुँडामा चोट लागेका थियो। उनलाई चिकित्सकले ४ महिना आराम गर्न सुझाव दिएको टिम म्यानेजर भण्डारीले​ बताए। 

मिडफिल्डर उत्सव राईको घुँडाको लिगामेन्ट च्यातिदा चिकित्सकले फिजियो थेरापीसहित रिहाबमा बसेर आराम गर्न भनेका छन् । उनले पनि इङल्याण्डबाटै घाइते भएर आएका थिए। 

यसैगरी समीर तामाङ र योगेश गुरुङलाई पनि घुँडाको समस्या भएकाले आराम गर्न डाक्टरले सुझाव दिएका छन्। 

अर्का खेलाडी फत्तेमान घले भने केही दिनअघि नेपाल पुलिस क्लबसँगको अभ्यास खेलका क्रममा गोलीगाँठोमा चोट लागेपछि टोलीबाट बाहिरिएका थिए। 
समीर तामाङ र योगेश गुरुङ पनि चोटग्रस्त छन्। यमध्ये अधिकांशले आगामी खेल खेल्ने सम्भावना कम छ।

४ टोली रहेको यो ‘एच’ समूहबाट शीर्ष दुई टोली एसियाली छनोटको तेस्रो चरणमा पुग्नेछन्। पुछार २ टिमले भने एसिया कपको लागि तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

समूहका ४ वट खेल जितेर  १२ अंक सहित युएई शीर्षस्थानमा रहँदा  ३ जित र एक हारसहित ९ अंक बटुलेको बहराइन दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको यमनले ४ खेलमा १ जित र ३ हारसँगै ३ अंक बटुल्दा पुछारको नेपालले खाता खोल्न सकेको छैन। 

नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा सन् २०२६ मा विश्वकप आयोजना गर्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.