|

बागलुङ : बडीगाड गाउँपालिका–५ ग्वालीचौर जिप दुर्घटनाका सबै घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। सोमबार बिहान भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। ६ जना घाइते थिए। उनीहरु सबैलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत ग्राण्डी अस्पताल काठमाडौं पठाइएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए।

‘दुर्घटनालगत्तै हामीले सिडियो साबमार्फत हेलिकोप्टर ल्याउने पहल गरेका थियौं’, पाइजाले भने, ‘भर्खरै ६ जना घाइते र अरु तीन जना आफन्तसहित ९ जनालाई काठमाडौं पठाइयो।’ प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको समन्वयमा ग्रहमन्त्रालयले हेलिकोप्टर पठाएको हो।

दुर्घटनामा बडिगाड–८ रणसिंहकिटेनीका भीम बहादुर शेर्वुजा, टेक बहादुर पाइजा र दीपशिखा पाइजा गम्भीर घाइते भएका छन्। उनीहरुको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। बडिगाड-८ कै बालमती पाइजा र दिनेश पाइजा तथा गलकोट नगरपालिका–१० पाण्डवखानी भीम बहादुर श्रीस पनि घाइते छन्। 

यसअघि, उनीहरुको ग्वालीचौर स्वाथ्यचौकीमा सामान्य उपचार गरिएको थियो। दुर्घटनास्थल जिल्ला सदरमुकामबाट पुष्पलाल मध्यपहाडीलोकमार्गमा सवारीसाधनको ५ घण्टा पश्चिमको यात्रापछि पुगिन्छ। जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप साबिक गौलिचौर गाबिस–३ दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

ध १ ज १८४ नम्बरको जीप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटनास्थल पुगेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए। दुर्घटनामा परी बाढीगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाइजा, वडा नम्बर–८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर–४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.