दूतावास र नेपाली समाजले गरे स्वागत
दूतावास र नेपाली समाजले गरे स्वागत
दमाम : सन् २०२६ को विश्वकप फुटबलको होडबाट बाहिइरिसकेको नेपाली फुटबल टोली साउदी अरबको दमाम पुगेको छ।
फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका दुई खेलमा प्रतिस्पर्धा गर्न दमाम पुगेको हो।
नेपाली टोलीलाई साउदी अरबका लागि नेपाली दूतावासका प्रतिनिधि नारायण पासवान, दमाममा बस्ने नेपाली समाजलगायतले दमाम विमानस्थलमा स्वागत गरेका थिए।
नेपालले छनोटअन्तर्गतको यूएई र यमनविरुद्ध १/१ खेल खेल्न बाँकी छ।
समूह एच मा यूएई, बहराइन र यमनसँगै रहेको नेपालका लागि बाँकीका दुवै खेल जिते पनि तेस्रो चरणमा पुग्ने संभावना मरिसकेको छ। एशियन कप फुटबलका लागि भने यी दुवै खेलले खासै अर्थ राख्दैन।
नेपालले जेठ २४ गते यूएई र जेठ २९ गते यमनसँग खेल्नेछ। दुवै खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा हुनेछ।
नेपाल र यूएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि न्युट्रल भेन्यूका रुपमा साउदी अरबमा खेल्न लागेको हो।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, सीईओ ईन्द्रमान तुलाधरलगायतले आइतवार साँझ टोलीलाई बिदाइ गरेका थिए।
नेपाली टोलीमा २३ जना खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ।
नेपाली टिमका व्यवस्थापक उत्तमराज भण्डारीका अनुसार टोलीले सोमवार साँझ अभ्यास थाल्दै छ।
नेपालले यमन र यूएईसँग यसअघि १/१ खेल खेलिसकेको छ। नेपाली घरेलु मैदानमा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो भने यूएईमा भएको खेलमा पनि नेपाल ४–० ले नै निराश बनेको थियो।
बहराइनसँग उसकै भूमिमा खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले हारेको नेपालले अबका २ खेलले नतिजामा फरक नपारे पनि प्रतिष्ठाका लागि खेल्नेछ।
यसपटकको छनोट चरणमा नेपालले कुल १४ गोल खाइसकेको छ भने एउटै गोल पनि फर्काउन सकेको छैन।
समूहमा प्रत्येक टोलीले हरेकसँग होम एन्ड अवेका आधारमा २–२ वटा खेल खेल्नुपर्ने भए पनि नेपालले दशरथ रंगशाला तयार नभएको कारण देखाएर घरेलु मैदानमा खेल्नुपर्ने यूएईविरुद्धको खेल पनि साउदीमै खेल्न लागेको हो।
यसअघि बहराइनविरुद्धको होम म्याच पनि उतै खेलाइएको थियो।
नेपाली टोलीमा आयुष घलानले फेरि टिममा स्थान बनाउँदा बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा डेब्यू गरेका छन्।
यसअघि बहराइनविरुद्धको खेलमा टिममा नरहेका रोहित चन्द पनि टिममा फर्किएका छन्। चोटका कारण कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट यसपटक टिममा छैनन्।
इटालियाली प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले नेपाली टोलीले साउदी भूमिमा राम्रो खेल पस्कने बताए। उनले बाँकी २ खेलले नतिजामा खासै फरक नपारे पनि सक्दो राम्रो खेल पस्किने बताए।
‘यो हार या जितले विश्वकप छनोटमा खासै अर्थ राख्दैन। हामी सकेसम्म राम्रो खेल्ने प्रयासमा छौँ, नजिते पनि राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु,’ उनले भने‚ ‘
नेपाली टिममा अधिकांश युवा र कम अनुभवी खेलाडी छन्। तैपनि टिममा किरण लिम्बु, भरत खवास , रोहित चन्द, अनन्त तामाङ जस्ता अनुभवी खेलाडी भएकाले मेरो विश्वास र भरोसा उनीहरुमाथि बढी छ।’
४ टोली रहेको एच समूहबाट शीर्ष दुई टोली एशियाली छनोटको तेस्रो चरणमा पुग्नेछन्। पुछारका २ टिमले भने एशिया कपको लागि तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन्।
समूहका ४ वटै खेल जितेर १२ अंकसहित यूएई शीर्षमा रहँदा ३ जित र १ हारसहित ९ अंक बटुलेको बहराइन दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको यमनले ४ खेलमा १ जित र ३ हारसँगै ३ अंक बटुल्दा पुछारको नेपालले खाता खोल्न सकेको छैन।
नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा सन् २०२६ मा फिफा विश्वकप आयोजना गर्दै छन्।
नेपाली फुटबल टोली
गोलरक्षकः किरणकुमार चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
रक्षा पंक्तिः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई
मध्य पंक्तिः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई
अग्र पंक्तिः जिलेस्पीजंग कार्की, हिसुब थपलिया, आशिक बाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान
टिम म्यानेजरः उत्तम भण्डारी
मुख्य प्रशिक्षकः अल्बर्टो भिन्सेन्जो एनेस
सहायक प्रशिक्षकः चेतन घिमिरे
गोलरक्षक प्रशिक्षकः मनिष तिम्सिना
तपाईंको ईमेल गोप्य राखिनेछ ।