|

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा २ दिनदेखि विवाद चुलिएसँगै स्थिति तनावग्रस्त भएको छ। नदीजन्य वस्तु निकासी विषयमा सो पालिकामा विवाद हुन थालेको हो।

वृन्दावन नगरपालिका वडा नं–१ बलेरीस्थित बागमती खोलाबाट अमानतमा नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद चुलिएको छ। 

नगर प्रमुख विनोदप्रसाद कुर्मीले आर्थिक लाभ लिन आफ्नै नजिकका र नातेदारहरूलाई अमानतमा बागमती नदीको ठेक्का दिई सो खोलाबाट नदीजन्य वस्तु निकाल्न थालेको आरोप पूर्वनगरप्रमुख राम स्नेही यादवले लगाएका छन्।

आइतवार बागमतीबाट नदीजन्य वस्तु निकाल्न थालेपछि स्थानीयहरु नदीमै पुगेर विरोध गर्न थालेपछि निकासी केही बेर रोकिएको थियो तर केही बेरमै नगरप्रमुख कुर्मीले ठूलो संख्यामा प्रहरी बोलाएर बागमतीमा उत्खनन् गराउन थालेका थिए। 

बागमतीमा स्काभेटरजस्ता मेसिन प्रयोग गर्ने नियम नहुँदासमेत सो पालिकाले बागमतीमा स्काभेटर प्रयोग गरेर टिपरबाट नदीजन्य वस्तु निकाल्न थालेका पूर्वनगरप्रमुख यादवको भनाइ छ।

असनवा घाटबाट नदीजन्य वस्तु निकाल्न थालेपछि सो स्थानमा बाक्लो प्रहरी प्रशासनको उपस्थितिमा निकासी भइरहेको छ। 

प्रहरीको आडमा बागमतीबाट स्काभेटर प्रयोग गरेर सोमवार पनि ब्यापक उत्खनन् भइरहेको हो। नदी उत्खनन्‌का कारण खोलामा २ दिनदेखि बागमतीमा अवस्था तनावग्रस्त बनेको छ। 

स्थानीयले बागमती उत्खनन् नगर्न पटक–पटक आग्रह गरे पनि नगरप्रमुखले प्रहरी परिचालन गराएर नदीजन्य वस्तु निकाल्ने गरेको वृन्दावन नगरपालिका वडा नं–१ का पूर्ववडाअध्यक्ष सुबोध पटेलले बताए।

एकीकृत समाजवादी पार्टीबाट निर्वाचित नगरप्रमुख कुर्मी सोमवा बागमतीमा पिकनिक मनाउने निहुँमा आफ्ना करिब डेढ सय कार्यकर्ता खोलामा बोलाएर उत्खनन् गराइरहेको स्थानीय बासिन्दा मुकेश यादवको भनाइ छ। नदी उत्खनन् बन्द गर्ने समयमा पालिकाले उत्खनन् गर्न थालेपछि स्थानीयले विरोध जनाउन थालेका छन्। 

सो खोलाबाट नदीजन्य वस्तु निकाल्न थालेपछि रमौली, हरैया, समनपुरलगायतका बस्ती जोखिममा पर्ने स्थानीय बासिन्दाको भनाइ छ। यस विषयमा नगरप्रमुख विनोदप्रसाद कुर्मीसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।  

यसअघि पनि सो पालिकामा नदीजन्य वस्तु निकाल्ने विषयमा ठूलो विवाद भएको थियो। अमानतमा रमौली घाटबाट नदीजन्य वस्तु निकाल्न थालेपछि गत वर्ष पनि विवाद भएको थियो। 

गत वर्षको विवाद उग्र रुप लिएपछि सो पालिकाका कैयौँ सर्वसाधारण तथा दुवै पक्षका कार्यकर्ता घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.