|

पाठशाला मैले पढेको पहिलो उपन्यास हो। तीर्थ गुरूङले लेख्नुभएको यो उपन्यासमा २४७ पेज रहेका छन्। तर मैले यो उपन्यास पेज नम्बर ७ बाट मात्र पढ्न सुरू गरेँ। किनभने अगाडिका ६ पेजहरू मेरो बाबाले छोटकरीमा भनिदिनुभएको थियो। त्यसपछि नै मलाई यो पुस्तक पढ्ने रहर जाग्यो।

पाठशाला पढ्नुभन्दा अगाडि मलाई लाग्थ्यो कि उपन्यासहरू लामो, मोटो र बोरिङ २००–३०० पेजका पुस्तकहरू मात्र हुन्। मैले पाठशाला सुरू गर्नुको कारण एकचोटी मेरो बाबाले यस पुस्तकका हाँसो लाग्दो वाक्यहरू सुनाएर मलाई पढ भन्दै दिनुभयो। पाठशाला उपन्यास भित्र गगन थापा नाम गरेका व्यक्तिको कथा उहाँकै निलो नोटबुक जहाँ उहाँले हरियो अक्षरले आफ्नो कथा लेख्नुभएको छ। मलाई यो पुस्तक मन पर्नुको कारण यहाँ हँसाउने कुरा धेरै नै छन्।

जस्तै, गगनका बाको लास्टै गन्हाउने पादको बारेमा छ।

पेज १०९ को भैलो :

ए कुहिएको अदुवा भैलो

ए घरका सबै पदुवा भैलो

ए कुकुर करायो कुइया भैलो

ए घरका सबै चुइया भैलो

हाहाहा

कस्तो हाँसो लाग्ने

यहाँ अरू कुराहरू पनि छन्।

जस्तै स्कुलको नाम हार्फोर्ड (harford) को रहस्य पनि रमाइलो नै लाग्यो। संसार भरी नाम कमाएका harvard र oxford  को सुरू र अन्तिम नाम मिलाएर हार्फोड बनाएको छ। यसले मलाई अमिर खानको हिरोले हिन्दी फिल्म थ्री इडियट्समा साथीहरूको नामबाट नयाँ शब्द बनाएको कुरा याद आएको थियो।

त्यस्तै गगनको स्कुलको पुरानो प्रिन्सिपल डबल सर।

विजय सर अथवा कथामा बिरालो सर भएको छ। उहाँ प्रिन्सिपल बन्नुभयो। डबल सरको नाम डबल सर कसरी रहन गयो ? यसमा पनि एउटा कथा लेखिएको छ।

हार्फोड एकचोटी सरस्वती पूजाको दिन ठूला दाइहरूले टीका पखाल्दै फेरि आएर प्रसाद खाँदै गरिरहेका थिए। तर, गगनहरूको पालोमा सरले प्लास्टिक खुम्चिएको देखेर डबल खानेहरू भनि भगाइदिनु भएको थियो। त्यसैले उहाँको नाम भयो डबल।

अर्को टुँगन घर्ति सरसँग सम्बन्धित छ। एकचोटी गगनको आइपड हराएर उसले गर्लस् ट्वाइलेटमा गइ खोज्न थाल्यो। तर, त्यहाँ उसले आइपड होइन नराम्रा चित्र र शब्दहरू भएको देख्यो। उसले त्यसलाई मेटाउन खोज्दा मेटिएनन्। उसले त्यहाँ एउटा चकको टुक्राले शब्दहरू फेरबदल गर्न चित्रमा केर्‍यो। तर, त्यहाँ उसलाई घर्ती सरले पुगेर उसले नै ती शब्द र चित्र बनाएको हो भन्ने सोचेर गगनलाई एकदमै धेरै पिट्नुभयो। उसले वाक्यो र बेहोस भई ढल्यो अनि सिधै गण्डकी अस्पतालमा पुग्दा बल्ल आँखा खुल्यो।

त्यहाँ थाहा भयो कि उसको एपेन्डिस फुट्ने बेला भएको रहेछ। उता स्कुलमा अगम सरले ति गगनले फेरबदल गर्न खोज्दा गरेका शब्दहरू मेटाउन खोज्दा मेटिए तर ति फोहोर शब्दहरू मेटिएनन्। जसले गर्दा कुरै नबुझी विद्यार्थीमाथि हात उठाएका घर्ती सर स्कुल छोडी जानुभयो।

अनि एउटा अर्को काण्ड स्कुलबाट भागेको हो। परीक्षाको बेलामा गगनका ममी र बाले फी नभरेर प्रिन्सिपल सरको कोठामा लगि सम्झाउँदै हुँदा उहाँको ल्यापटपमा एउटा हाँसो लाग्दो कालो बिरालोको फोटो आयो।

जसले गर्दा उनीहरू हाँसे। यसरी महत्वपूर्ण कुरा गर्दा गगन हाँसेकाले उसलाई कुखुरा बनाइयो। गगनलाई बेइज्जत गरेको जस्तो लागेर स्कुलबाट भाग्यो। घरमा पुगी थोरै पैसा लिएर मःम पसलमा गइ मःम र चाउमिन खाएर घर आउँदा उसको ममी र बाबाले गाली नगरी बस्दा ऊ अचम्म भयो। अर्को दिन स्कुलमा उसले चिनेको कल्पना बहिनी बाहेक कसैले उसलाई किन भागेको भनि सोधेनन्। 

अरू पनि धेरै कुरा भए पनि म लेख्न चाहँदिन किनकि यो धेरै नै लामो हुन जान्छ। त्यसका लागि तपाईँले उपन्यास नै पढ्नुपर्ने हुन्छ। मैले यो पुस्तक चौथो त्रैमासिक परीक्षा २०८० मो छुट्टीमा पढ्न सुरू गरें र स्कुल सुरू भएपछि छोडिदिएँ।

वैशाखमा म विरामी भएर घरमा रेस्ट गर्नुपर्ने भयो। बिरामी भएर त्यसरी घरमा बसेको बेला यो पुस्तक एक हप्तामा सकेँ। मेरो बाबा भन्नुहुन्छ–हामीले विद्यालय बाहेकका पुस्तकहरू, पत्रिकाहरू आदि पढ्दा ज्ञानको दायरा फराकिलो हुन्छ। यस उपन्यासले मलाई थप पुस्तक पढ्न प्रेरित गरेको छ। यसको लागि लेखक तिर्थ गुरूङलाई धन्यवाद।

यो उपन्यास पढिसक्दा मेरो दिमागमा घुमिरहेको प्रश्न भनेको त्यो निलो नोटबुक गगनलाई कसले दियो ? जहाँ उसले कथा लेख्यो। नोटबुक दिने मान्छेले किन उसलाई आन्दोलनमा भेट्ने भन्यो?

एउटा उपन्यास पढ्दा हामी कोठाभित्र बसेर पुरै संसार भ्रमण गरे जस्तो अनुभव पाउने रहेछौँ। साच्चै नै उपन्यास पढ्दा धेरै नै फाइदा हुँदो रहेछ। नयाँ कुरा थाहा पाइने, नयाँ शब्दहरू पनि चिन्न पाइने। मैले तिर्थ गुरूङको पाठशालबाट उपन्यासहरू पढ्न सुरू गरेँ। तपाईँहरू पनि सुरू गर्नु है साथीहरू।

लेखक गिरी पोखरा पब्लिक स्कुलमा  कक्षा ६ मा अध्ययनरत छन्। 

नोट : प्रिय पाठकहरू, तपाईँहरूका बाबु नानीले पुस्तक, सिनेमा, नाटक हेरेर गरेका समीक्षाहरू भए हामीलाई पठाउनुस्। हामी प्रकाशन गर्ने कोशिश गर्नेछौँ।

-सम्पादक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.