दमाम : नेपालले फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका दुई खेलमा युएई र यमनविरुद्ध प्रतिस्पर्धा गर्दै छ।
पहिलो खेलमा युएईसँग बिहीबार प्रतिस्पर्धा गर्ने नेपालले त्यसपछि आगामी जेठ २९ गते यमनसँग खेल्नेछ। दुवै खेल साउदी अरेबियाको दम्मामस्थित प्रिन्स महोम्मद विन फहद रंगशालामा साँझ हुनेछ।
समूह एच मा युएई, बहराइन र यमनसँगै रहेको नेपालका लागि बाँकीका दुवै खेल जिते पनि तेस्रो चरणमा पुग्ने संभावना मरिसकेको छ। एशियन कप फुटबलका लागि भने यी दुवै खेलले खासै अर्थ राख्दैन।
नेपालले यमन र युएईसँग यसअघि एक एक म्याच खेलिसकेको छ। नेपाली घरेलु मैदानमा भएको खेलमा नेपाल यमनसँग २–० ले हारेको थियो भने युएईमा भएको खेलमा पनि नेपाल ४–० ले नै निराश बनेको थियो। बहराईनसँग उसकै भूमिमा दुवै खेल खेलेर दुवैको नतिजा नेपालले सुम्पिएको छ।
समूहका ४ वट खेल जितेर १२ अंकसहित युएई शीर्षस्थानमा रहँदा ३ जित र एक हारसहित ९ अंक बटुलेको बहराइन दोस्रो स्थानमा छ। ४ टोली रहेको यो एच समूहबाट शीर्ष दुई टोली एसियाली छनोटको तेस्रो चरणमा पुग्नेछन्। पुछार २ टिमले भने एसिया कपको लागि तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन्।
तेस्रो स्थानमा रहेको यमनले ४ खेलमा १ जित र ३ हारसँगै ३ अंक बटुल्दा पुछारको नेपालले खाता खोल्न सकेको छैन।
यस्तोमा बाँकीका दुई खेल नेपालका लागि कत्तिको महत्वपूर्ण छ , युएई र यमनसँग खेल्नका लागी नेपालको तयारी कस्तो छ? यी लगायतका विषयमा थाहाकर्मी नवीन लुइँटेलले इटालियन प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेससँग कुराकानी गरेका छन्।
नेपाली टिमको तयारी कस्तो छ?
यो पहिलोपल्ट हो लामो समयको तयारी गर्न पाएका छौँ। तयारी हामीले राम्रो गरिरहेका छौँ। मलाई टिमप्रति गर्व छ। केटाहरूले मलाई फलो गरेर प्रशिक्षण लिइरहेका छन्।
अघिल्ला चार खेलको तुलनामा हामीसँग यसपटक अझ अनुभवी टोली छ। टिममा आवश्यक पर्ने रोहित चन्द फेरी टिममा फर्किएका छन्। डिफेन्सका लागी उनको आगमन टोलीका लागि निकै महत्वपूर्ण भएको छ। उनीसँगै टिममा लामो समयदेखी खेल्दै आएका गोलकिपर किरण चेम्जोङ र स्ट्राइकर भरत खवास पनि टिममा छन्।
यसले टोलीको आत्मविश्वास थप बढेको छ। फिजिकल र ट्याक्टिकलरुपमा हामीले धेरै समय तयारी गर्न पाएका छौँ। नेपाली टिमले इंगल्याण्डमा खेलेको तयारी खेलले पनि टोलीमा निखारता ल्याएको छ।
हामीले १५ दिनको तयारी गरेका छौँ यसपटक। यति लामो समय तयारी हामीले यसअघि विश्वकप छनोटको पहिलो चरण अगाडि मात्र गरेका थियौँ। त्यतिबेला हामी लाओसलाई हराएर दोस्रो चरण पुग्यौँ। लाओसलाई उसको मैदानमा हराएर हामीले सात वर्षपछि विदेशी भूमीमा जित हात पारेका थियौँ।
हाम्रो लक्ष्य के हो? जित कि राम्रो प्रदर्शन?
हाम्रो लक्ष्य जित्नुभनदा पनि राम्रो खेल पस्कनु हो। हामी विगतका खेलभन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ साउदीमा छौँ। हामी सबैलाई थाहा छ–युएईको टोली निकै राम्रो र बलियो हो। नतिजा कता पटि जानेभन्दा पनि कति राम्रो खेल्ने नेपालका लागि महत्वपूर्ण विषय हो।
हाम्रा लागि राम्रो नतिजा ल्याउन असम्भव जस्तै छ तर राम्रो प्रदर्शन भने हामी गर्न सक्छौ। के थाहा राम्रो खेल्दा खेल्दै नतिजा पो हाम्रै पक्षमा जान्छ कि?
यमन करिब हामीजस्तै टोली हो। तर यमनका धेरै खेलाडीहरू युएईसहित विदेशका लिगहरूमा खेलिरहेका छन्। हामीसँग किरण र रोहितले मात्र विदेशी भूमिमा रहेर लिगमा खेलिरहेका छन्। हाम्रा खेलाडीले करिब एक वर्षदेखि घरेलु लिग पनि खेल्न पाएका छैनन्। धेरै खेलाडी घाइते हुन पुगेका छन्। धेरै नयाँ युवा र अनुभव कम भएका खेलाडी छन्। त्यसैले हामीले नियमित प्रशिक्षण गर्नुपर्छ।
अन्जनलगायत केही महत्वपूर्ण खेलाडी घाइते छन्? त्यसको पूर्ति कसरी हुन्छ?
मुख्य स्टार स्ट्राइकर अन्जन विष्ट टिममा नहुनु टोलीका लागि ठूलो घाटा रहेको छ। उनी नयाँ खेलाडीका लागि आशा र भरोसा हुन्। नयाँ र युवा खेलाडीका माझ गाइड गर्न उनको आवश्यकता थियो तर दुर्भाग्य घुँडाको चोटका कारण उनी यसपालि टिममा छैनन्। हामीलाई अहिले चाहिएको गोल हो। उनी गोल गर्न सक्ने स्तर भएका खेलाडी हुन्।
सन् २०१४ देखी खेल्दै आएका अन्जनले ६५ क्यापमा १३ गोल गरिसकेका छन्। उनी सिनियर नेपाली राष्ट्रिय टोलीका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको राष्ट्रिय कीर्तिमान तोडेको हेर्न चाहन्थ्यौँ। हामी उनलाई टिममा चाहन्थ्यौँ तर दुर्भाग्य बस घाइते हुन पुगे।
अन्जनसँगै स्ट्राइकर दिनेश हेन्जन र मिडफिल्डर उत्सव राई पनि टिममा छैनन्। अब हामीले अन्जनबारे सोच्नुभन्दा टिममा रहेका अन्य खेलाडीमा विश्वास गर्नुपर्छ। उनीहरूको मनोबल बढाउनुपर्छ।
सन्जिव विष्ट नेपालका भावी मुख्य स्ट्राइकर बन्न सक्ने खेलाडी हुन्। सन्जिव र जिलेप्सीजंग कार्कीसँग नेपाललाई आवश्यक शारीरिक क्षमता छ। बसन्त जिम्बा पनि राम्रो स्ट्राइकर बन्न सक्ने खेलाडी हुन्।
यी तीनजनाबाहेक युसुफ थपलिया र मनिष डाँगीले पनि विपक्षीलाई समस्यामा पार्न सक्छन्। तर अहिले हामीसँग गोल गर्न सक्ने खेलाडीको समस्या छ किनभने हामीले गोल गर्नुछ।
हामीले विश्वकप छनोटमा एक गोल पनि गर्न सकेका छैनौँ। हामीले गोल गर्ने क्षमता विकास गर्नुछ। गोल गर्ने अप्रोच विकास गर्नु, डी–बक्सबाहिरबाट बल प्रहार गर्ने क्षमता विकास गर्नु आवश्यक छ। यसले आगामी प्रतियोगिताहरूमा टिमको आत्मविश्वास बढाउने छ।
तपाईंको आशय हाम्रो मुख्य समस्या भनेको अग्रपंक्तिमा हो?
विश्वकप छनौटका पछिल्ला ४ म्याचमा हामीले गोल गर्न सकेका छैनौँ।
नेपालले यमन र युएईसँग यसअघि एक एक म्याच खेलिसकेको छ। यमनसँग २–० ले र युएईसँग ४–० ले हारेको छ। बहराइनसँग पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले नेपाल पराजित भएको छ। यी सबै म्याचमा गोल गर्न सकेको छैन।
हो, हामीलाई गोल गर्न आवश्यक छ, गोल गर्न टोली अझ सशक्त बन्नुपर्छ। हाम्रो मुख्य समस्या भनेको पर्याप्त प्रशिक्षणको अभाव हो। हामीसँग कुनै पनि प्रतियोगिताका लागि तयारी गर्न पर्याप्त समय हुँदैन। हामीसँग घरेलु लिग छैन। यी मुख्य समस्या हुन्। हाम्रा खेलाडीहरूसँग विश्वकप छनोट खेल्ने स्तर छ।
अबका दुईवटा खेलपछि नेपाली टिमले के प्राप्त गर्ने अपेक्षा गर्न सकिन्छ?
हामीले अनुभव प्राप्त गर्ने छौँ। हामीले गोल पोष्टभित्र पर्ने गरी अझ बढी आक्रमणहरू गर्ने छौँ। हामीले नयाँ पुस्ताका खेलाडीहरूमा विश्वास गर्नुपर्छ। धेरै खेलाडीहरूले युएईजस्तो बलियो टिमसँग खेलेका छैनन्। हाम्रा खेलाडीहरूले यदि धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलहरू खेले भने आत्मविश्वास बढ्ने छ।
रोहित चन्द र किरण चेम्जोङले जस्तै अन्य खेलाडीले पनि विदेशका लिगहरू खेल्नुपर्छ। मनिष डाँगी, आयुष घलान, लाकेन लिम्बुजस्ता खेलाडीहरू त्यस्ता अवसरका लागि योग्य छन्। हाम्रा छिमेकीहरूमा हेर्ने हो भने भारतमै ठूलो लिग आयोजना हुन्छ।
पाकिस्तान र बंगलादेशका धेरै खेलाडीहरू विदेशमा गएर लिग खेलिरहेका छन्। हाम्रोमा तीन महिना लिग भएपछि अर्को लिग कहिले सुरु हुन्छ थाहा हुँदैन। यस्तो पाराबाट उच्चस्तरको फुटबल गएर खेल्न सजिलो हुँदैन।
टिमका तीन अनुभवी र पुराना खेलाडी गोलकिपर किरण चेम्जोङ, स्ट्राइकर भरत खवास र डिफेन्डर रोहित चन्दको फर्म र प्रदर्शनबारे के भन्नुहुन्छ?
नेपालमा रोहितजस्तो खेलाडी लामो समययता जन्मिएको छैन। उनले करिब १० वर्ष विदेशमा व्यावसायिक लिग खेलेका छन्। किरणले पनि पछिल्ला ७–८ वर्ष विदेशमा लिग खेलिरहेका छन्।
भरत पनि लामो समय नेपालका लागि खेलेका खेलाडी हुन्। चोटका कारण उनी पछिल्ला खेलहरूमा टिममा थिएनन्। उच्चस्तरमा पुग्नसक्ने अनुभव र व्यक्तित्व उनको छ। हामीले विश्वकप छनोट खेलमा अनुभवी खेलाडी चाहिन्छ। विपक्षी टिमहरूलाई हेर्नुभयो भने खेलाडीहरूले २०/३०-४० क्याप जितेका छन्।
हामीसँग केही खेलाडीले त १–२ पटक मात्र राष्ट्रिय टोलीबाट खेलेका छन्। हामीसँग हरेक पटक खेल्दा केही खेलाडीहरू नयाँ हुन्छन्। केही खेलाडीहरू अस्ट्रेलिया पुगेका छन्। मैले पछिल्लो १ वर्षमा मात्र २८ जना खेलाडीहरू नेपालबाट गुमाएको छु।
नयाँ खेलाडीका लागि के गर्नुपर्छ?
हामीले नयाँ खेलाडीहरूलाई विदेशमा खेल्न जाने अवसर सिर्जना गर्नुपर्छ। जसले गर्दा अनुभवमा उनीहरू निखारिन्छन्। बढीभन्दा बढी खेलमा व्यस्त गराएर या खाली समयमा पनि अभ्यास र तयारीमा व्यस्त गराउनुपर्छ। विदेशमा खेल्नका लागि मनीष डाँगी , आयुष घलान र लकेन लिम्बूलाई अवसर प्रदान गर्न सकियो भने टिममा थप ऊर्जा आउनेछ।
अन्त्यमा केही भन्नुहुन्छ?
हामी सबै नेपालीले सकारात्मक तबरले कमेन्ट गरौँ। नेपाली फुटबलको विकासका लागि राम्रा राम्रा सुझाव दिऔँ। काम गर्ने र प्रयास गर्नेलाई साथ दिने बानी बसालौँ। नेपाली टिमलाई माया गरौँ, सकारात्मक सोचौँ एकदिन नेपाली फुटबल माथि उठ्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।