साउदीमा बस्ने नेपालीले निःशुल्क हेर्न पाउने

|

दमाम : फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले बिहीवार संयुक्त अरब इमिरेट्स यूएईसँग प्रतिस्पर्धा गरिरहँदा गोलको खडेरी टार्ने प्रयास गर्नेछ। 

खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ।

साउदीमा बस्ने नेपालीले रंगशालामा गएर निःशुल्क फुटबल हेर्न पाउने भएका छन् । साउदी अरब फुटबल फेडेरेशनले फुटबल हेर्न निःशुल्क टिकटको व्यवस्था गरेको छ। 

यो खेल नेपालका लागि राम्रो प्रदर्शन गर्ने र गोलको खडेरी टार्ने अवसर हुनेछ भने विश्वकप छनोटको अर्को चरणमा पुगेको यूएईका लागि समूह विजेता बन्न जित चाहिएको छ।

समूहमा नेपालले ४ खेल खेल्दा एक अंक पनि जोड्न सकेको छैन भने तेस्रो चरण नपुग्ने पक्का भइसकेको छ। यता यूएई पनि ४ खेल खेल्दै सबै जितेर तेस्रो चरण पुगिसकेको छ। 

नेपालले पहिलो खेलमा यूएईसँग ४–०, दोस्रो खेलमा यमनसँग २–०, तेस्रो खेलमा बहराइनसँग ५–० र चौथो खेलमा बहराइनसँग नै ३–० गोलको हार बेहोरेको थियो। समूहमा हरेक टोलीले प्रत्येकसँग होम एन्ड अवेका आधारमा २/२ खेल खेलिरहेका छन्। 

४ खेलमा १४ गोल खाएको नेपालले कुनै गोल गर्न सकेको छैन। आजको खेलमा गोल गर्दै खडेरी टार्ने धुनमा नेपाली टोली छ। 

फिफा वरीयतामा यूएई नेपालभन्दा १११ औँ स्थान माथि छ। यूएई ६७औँ र नेपाल १७८औँ स्थानमा रहेको छ।

नेपाली टोलीका प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले एशिया कप छनोटका लागि आत्मविश्वास बलियो बनाउन यूएईसँगको खेल महत्वपूर्ण रहने बताए। 

‘हाम्रो टिम विगतभन्दा अनुभवी छ र हरेक खेलमा प्रदर्शन सुधार गर्दै लगेका छौँ। त्यसैले निकै बलियो यूएईविरुद्ध हामी अझ सुधारिएको प्रदर्शन गर्न चाहन्छौँ’, प्रशिक्षक एनेसले भने, ‘हामीले राम्रो नतिजा ल्याएर गोल स्कोर गर्ने प्रयासमा हुनेछौँ।’ 

तर मुख्य स्ट्राइकर अन्जन विष्टको अनुपस्थितिले टोलीमा केही अभाव खड्किनेछ। यूएईविरुद्धको खेलमा मुख्य स्टार स्ट्राइकर अन्जन विष्ट टिममा नहुनु टोलीका लागि ठूलो घाटा रहेको प्रशिक्षक भिन्सेन्जोको तर्क छ।

एनेसका अनुसार उनी नयाँ खेलाडीका लागि आशा र भरोसा हुन्। नयाँ र युवा खेलाडीमाझ गाइड गर्न उनको आवश्यकता थियो तर दुर्भाग्यवश घुँडाको चोटका कारण उनी यसपालि टिममा छैनन् । 

प्रशिक्षक एनेसले भने, ‘हामीलाई अहिले चाहिएको गोल हो। उनी गोल गर्न सक्ने स्तर भएका खेलाडी हुन्। सन् २०१४ देखि खेल्दै आएका अन्जनले ६५ क्यापमा १३ गोल गरिसकेका छन्। उनी सिनियर नेपाली राष्ट्रिय टोलीका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनले सर्वाधिक अन्तरराष्ट्रिय गोलको राष्ट्रिय कीर्तिमान तोडेको हेर्न चाहन्थ्यौँ। हामी उनलाई टिममा चाहन्थ्यौँ तर दुर्भाग्यवश घाइते हुन पुगे। अब अन्जनबारे सोच्नुभन्दा टिमका अन्य खेलाडीमा विश्वास गर्नुपर्छ। उनीहरुको मनोबल बढाउनुपर्छ।’ 

यूएईका प्रशिक्षक पाउलो बेन्टोले आफूहरु जितका लागि खेल्ने बताए। ‘हामी अर्को चरणमा पुगिसकेका छौँ, हामी आफ्नो उत्कृष्ट खेल दिनेछौँ र समूह विजेता बनेर तेस्रो चरण पुग्न चाहन्छौँ’, उनले भने, ‘हामी आफ्नै शैलीमा खेल्नेछौँ।’  

यूएईका कप्तान हमिद अब्बासले हरेक म्याच आफूहरुका लागि महत्वपूर्ण हुने बताए। प्रि-म्याच कन्फ्रेन्समा उनले भने, ‘हामीलाई हाम्रा खेलाडीमाथि विश्वास छ , उनीहरुले राम्रो खेल्नेछन्।’ 

नेपाल र यूएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएको एएफसीले भनेपछि न्युट्रल भेन्यू अर्थात् साउदी अरबमा खेल्न लागेको हो।

नेपालविरुद्ध यूएईका १४ गोल 

नेपालले यूएईकै भूमिमा गएर एउटा म्याच खेलिसकेको छ, जसमा यूएईले ४–० ले बाजी मारेको थियो। विगतको इतिहास हेर्ने हो भने सन् १९८४ मा भएको यूएईसँगको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ११–० ले हारेको थियो ।  

४ टोली रहेको यो एच समूहबाट यूएई विश्वकप छनोटको अर्को चरणमा पुगिसकेको छ भने बहराइन र यमनमध्ये एक टोली पुग्नेछ तर अहिलेसम्मको स्थिति हेर्दा बहराइन बलियो देखिएको छ। समूहमा पनि उसको ९ अंक  छ। 

समूहका ४ वटा खेल जितेर १२ अंकसहित यूएई शीर्षमा रहँदा  ३ जित र एक हारसहित ९ अंक बटुलेको बहराइन दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको यमनले ४ खेलमा १ जित र ३ हारसँगै ३ अंक बटुल्दा पुछारको नेपालले खाता खोल्न सकेको छैन। 

पुछारका २ टिमले भने एशिया कपको लागि तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

नेपालले यसपालि लामो तयारी गरेकाले राम्रो खेल निस्कनेमा नेपाली मुख्य प्रशिक्षक प्रशिक्षक एनेस आशावादी छन्।

‘यो पहिलोपल्ट हो- लामो समयको तयारी गर्न पाएका छौँ। तयारी हामीले राम्रो गरिरहेका छौँ। मलाई टिमप्रति गर्व छ। केटाहरुले मलाई फलो गरेर प्रशिक्षण लिइरहेका छन्। अघिल्ला ४ खेलको तुलनामा हामीसँग यसपटक अझ अनुभवी टोली छ,’ उनले भने‚ ‘टिममा आवश्यक पर्ने रोहित चन्द फेरि टिममा फर्किएका छन्। डिफेन्समा उनको आगमन टोलीका लागि निकै महत्वपूर्ण भएको छ। उनीसँगै टिममा लामो समयदेखि खेल्दै आएका गोलकिपर किरण चेम्जोङ र स्ट्राइकर भरत खवास पनि टिममा छन् । यसले टोलीको आत्मविश्वास थप बढेको छ।’

उनका अनुसार फिजिकल र ट्याक्टिकल रुपमा नेपाली टोलीले धेरै समय तयारी गर्न पाएको तथा इंगल्याण्डमा खेलेको तयारी खेलले पनि टोली निखारेको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जोले भने टोलीले जित वा हारभन्दा पनि राम्रो खेल्नुपर्ने तर्क गरे‚ ‘हाम्रो लक्ष्य जित्नुभन्दा पनि राम्रो खेल पस्कनु हो। हामी विगतका खेलभन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ साउदीमा छौँ,’ उनले भने, ‘हामी सबैलाई थाहा छ– यूएईको टोली निकै राम्रो र बलियो हो। नतिजा कता जानेभन्दा पनि कति राम्रो खेल्ने नेपालका लागि महत्वपूर्ण हो।’ 

उनले राम्रो प्रदर्शनमा नै जोड दिए। ‘हाम्रा लागि राम्रो नतिजा ल्याउन असम्भवजस्तै छ तर राम्रो प्रदर्शन भने हामी गर्न सक्छौँ,’ उनले थपे। 

बिहीवारको खेलमा समकालीन फुटबल खेलाडीहरु कोही प्रशिक्षक त कोही फुटबल खेलाडीकै रुपमा साउदी मैदानमा उत्रँदै छन्।

११ वर्षपछि राष्ट्रिय फुटबल टोलीमा प्रशिक्षक भएर फर्किएका चेतन घिमिरेसँगै रहेर बिहीवार समकालीन भरत खवास र किरण चेम्जोङले खेल्दै छन्। 

सन् २०२६ को विश्वकप फुटबलको होडबाट बाहिरिइसकेको नेपालले यसपछि यही जेठ २९ गते यमनसँग विश्वकप छनोटमै प्रतिस्पर्धा गर्नेछ। 

नेपालले प्रारम्भिक चरणमा लाओसलाई २ लेगको खेलमा समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो।

क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा सन् २०२६ मा विश्वकप आयोजना गर्दै छन्। 

नेपाली फुटबल टोली

गोलरक्षकः किरणकुमार चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

रक्षापंक्तिः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई 

मध्यपंक्तिः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई

अग्रपंक्तिः जिलेस्पीजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान

टिम म्यानेजरः उत्तमराज भण्डारी

मुख्य प्रशिक्षकः अल्बर्टो भिन्सेन्जो एनेस

सहायक प्रशिक्षकः चेतन घिमिरे

गोलरक्षक प्रशिक्षकः मनिष तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.