|

भक्तपुर : मध्यपुर थिमिमा पर्यटन प्रवर्द्धनका साथै नेवारी परिकार संरक्षण गर्न दोस्रो वः (बारा) महोत्सव आयोजना हुने भएको छ।

मध्यपुर थिमि नगदेशमा शनिवार आयोजना हुने उक्त महोत्सव तथा ग्रीन एग्रो एक्स्पो–२०२४ को सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

मध्यपुर पर्यटन विकास समितिले आयोजना गर्ने महोत्सव तथा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष रमेश प्रजापतिले बताए। 

नेवार समुदायका विभिन्न परिकार र खानाको स्वाद, ग्रीन भेजिटेबल प्रदर्शन एवं विभिन्न खानाका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिनुका साथै मध्यपुर थिमिमा पर्यटकीय गन्तव्य बनाउन महोत्सव गर्न लागिएको उनले जानकारी दिए।

महोत्सवमा मध्यपुरका विभिन्न पर्यटकीय कला–संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, विहार, बस्ती र स्मारक क्षेत्र पर्यटकलाई घुमाउने, महोत्सवमा १० प्रकारका वः को प्रदर्शनी एवं बिक्री गरिनेछ। 

यसैगरी अन्य विभिन्न नेवारी परिकार र हरिया तरकारी, कोरियन तरकारीको प्रदर्शन गरिने, गाजरलगायत विभिन्न तरकारीबाट उत्पादित वाइनका साथै स्थानीय स्तरमा उत्पादित सामग्रीसहितका ५० भन्दा बढी स्टल राखिने अध्यक्ष प्रजापतिले पत्रकार सम्मेलनमा जानकारी दिए।

महोत्वसका लागि मध्यपुर थिमि नगरपालिकाको ६ लाख रुपैयाँ र आयोजकको लागत सहभागिता एवं विभिन्न निकायको २ लाख रुपैयाँ गरी ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समितिका उपाध्यक्ष कविदास श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.