अब अन्तिम खेल यमनसँग

|

साउदी अरब (दमाम) : फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल संयुक्त अरब इमिरेट्स यूएईसँग पराजित भएको छ। 

साउदी अरेबियाको दम्माम स्थित प्रिन्स महोम्मद विन फहद रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा विश्वकप होडबाट बाहिरिसकेको नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। 

युएईका हरिब अब्दाल्ला अल मुसरखले लगातार दुई मिनेटको अन्तरमा दुई गोल गर्दै यूएईलाई अघि बढाए। शुरुदेखि नै निकै दबाबमा राखेको यूएईले खेलको १२ औँ र १४ औँ मिनेटमा १-१ गरेर २ गोल हान्यो।  

खेलको १२औँ मिनेटमा अबदुल्लाह इद्रिसको क्रसमा हरिब अब्दाल्लाले हेड मार्फत पहिलो गोल गरे। यसैगरी त्यसको २ मिनेट पनि नबित्दै उनैले टोलीका लागि अर्को गोल गरे। ​१४औं मिनेटमा अली सालेह अमरोको पासमा उनले अर्को गोल थपे। 

दोस्रो हाफमा युएईका अली सालेह अमरोले ५३औँ मिनेटमा र खेलको ७५ औँ मिनेटमा हाजिम अब्बासले थप १-१ गोल गरे।

एएफसीले दशरथ रंगशालाको मैदान खेल्न लायक नभएको जनाएपछि न्युट्रल भेन्युको रूपमा साउदी अरेबियाको दम्मामस्थित सो रंगशालामा खेल खेलाइएको थियो। 

पाँच म्याचमा १८ गोल खाएको नेपालले कुनै गोल गर्न सकेको छैन। बिहीबारको खेलमा नेपालका लागि गोलको खडेरी टार्ने अवसर पाए पनि नेपालले सदुपयोग गर्न सकेन। 

खेलको ३० मिनेटपछि नेपालले विस्तारै यूएईमाथि बल लिएर केही आक्रमणको प्रयास बुन्न थाल्यो। खेलको ३६ औँ मिनेटमा जिलेस्पीजंग कार्कीले राम्रो गोल गर्ने अवसर गुमाए। सनिश श्रेष्ठको क्रसमा हानेको जिलेस्पीको प्रहारले पोष्टको जाली चुम्न सकेन। 

त्यसको एक मिनेटपछि ३७ औँ मिनेटमा नेपालले अर्को गोलको सुनौलो अवसर गुमायो। डिफेण्डर सनिश श्रेष्ठको क्रसमा विशाल बस्नेतले किपर बक्स भित्रबाट गरेको हेडर पोष्टको बारमा लागेर फर्कियो। लगत्तै रि-बाउण्डमा सञ्जीव विष्टले हानेको प्रहार पनि फेरी बारमा लागेर फर्कियो।

विश्वकप छनोटको अर्को चरणमा पुगेको यूएई यो नतिजाले १५ अंक बटुल्दै समूह विजेता बनेको छ। 

नेपाली टोलीका प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले यूएई जस्तो टोली विरुद्ध नेपाली खेलाडीले तुलनात्मक रूपमा पहिलेभन्दा राम्रो खेलेको प्रतिक्रिया दिए। खेलपछिको पोष्ट म्याच कन्फ्रेन्समा उनले गोल गर्ने २ वटा अवसर सदुपयोग गर्न नसक्नु दुर्भाग्य भएको बताए।

यस्तै खेलपछिको पोष्ट म्याच कन्फ्रेन्समा यूएईका प्रशिक्षक पाउलो बेन्टोले जितेर समूहको पहिलो बन्ने लक्ष्य पुरा भएको बताए। ‘हामी नेपालाई ४–० गोलले हराउँदै समूह विजेता बन्दै अर्को चरणमा पुग्न सफल भएका छौँ’, उनले भने, ‘ हामीले कन्ट्रोलमा राखेका थियौँ , तर ३० मिनेटमा भएको वाटर ब्रेकपछि केही बेर हामीले लय गुमायौँ।’ 

उनले नेपालसँगका खेलमा भएका कमजोरी अर्को खेलमा सुधारेर लैजाने बताए। प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले बसन्त जिम्बा र सौभागेय राईको स्थानमा छिरिङ लामा र सनिश श्रेष्ठलाई मैदान प्रवेश गराएपछि नेपालको खेलस्तर सुधारिएको थियो। 

उनले पहिलो पटक राष्ट्रिय टिममा परेका बसन्त जिम्बालाई सुरुवाती रोजाईँमा राखेर खेलाएका थिए। नेपालले अब समूहको अन्तिम खेल दम्मास्थित सोही रंगशालामा यमनसँग आगामी जुन ११ तारिखमा खेल्नेछ। 

नेपाल र यमन दुवैका लागि सो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपाल जितसँगै गोलको खडेरी टार्ने ध्याउन्नमा हुनेछ भने यमन पनि थप अंक बटुलेर सुखद अन्त्य गर्न चाहन्छ। 

नेपालले यसअघि अबे म्याचमा यूएईसँग ४-० ले नै पराजय भोगेको थियो। समूहमा नेपालले ४ खेल खेल्दा एक अंक पनि जोड्न सकेको छैन भने तेस्रो चरण नपुग्ने पक्का भइसकेको छ।

नेपालले पहिलो खेलमा यूएईसँग ४-०, दोस्रो खेलमा यमनसँग २-०, तेस्रो खेलमा बहराइनसँग ५–० र चौथो खेलमा बहराइनसँग नै ३-० गोलको हार ब्यहोरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.