काठमाडौँ : काठमाडौँको नक्सालमा जारी ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा आजसम्म करिब २० हजार जनाले अवलोकन गरेका छन्।
आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले हालसम्म करिब २० हजारले कला प्रदर्शनी अवलोकन गरिसकेका र यो क्रम जारी रहेको जानकारी दिए।
उनले प्रदर्शनीमा राजनीतिज्ञ, कलाकार, साहित्यकार, लेखक, वुद्धिजिवी, समाजसेवी, सर्वसाधारण तथा विद्यार्थीहरूले अवलोकन गर्ने क्रम जारिरहेको बताए।
हालसम्म ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले कला प्रदर्शनी अवलोकन गरेका उनले बताए। “कुनै दिन पाँच÷छवटा विद्यालयबाट विद्यार्थी प्रदर्शनी अवलोकनका लागि आउने गरेका छन्, समग्रमा यसपालि विगतको भन्दा बढी रौनक देखिएको छ”, थुम्केलीले भने।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यसपटक प्रतिष्ठानले काठमाडौँका दर्जनौँ स्कुलमा शिक्षामा सीप कार्यक्रम सञ्चालन गरेकाले विद्यार्थीको आकर्षण थपिएको बताए।
“यो कला प्रदर्शनीलाई नेपालमा कला क्षेत्रको सबैभन्दा ठूलो उत्सवका रूपमा हेरिने गरिएको छ। ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलोपटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका छन्, त्यसैले पनि यो महत्वपूर्ण छ”, कुलपति हार्तम्छालीले भने।
प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामा प्रतिष्ठानको कला प्रवर्द्धनका लागि स्थापनाकालदेखि नै प्रदर्शनी हुँदै आएकामा विद्यार्थीको आकर्षण थपिँदा प्रदर्शनीको औचित्य थप बढेको बताए।
‘सामाजिक रूपान्तरण, ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ यही जेठ १५ गतेबाट प्रदर्शनी सुरु भएको थियो। प्रदर्शनी यो महिनाभर चल्ने छ।
प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति राखिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।