|

काठमाडौँ : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधता अँगालेर पिछडिएका समूहलाई सशक्त बनाउने काम गरिरहेको बताएका छन्। 

आइतवार काठमाडौँमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक दुई दिवसीय संगोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताए।

उनले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गरे। उनले सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया भएको बताउँदै राम्रो समाजका लागि निरन्तर प्रयास हुनुपर्ने बताए। समावेशिता‚ धर्मनिरपेक्षता, संघीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तले नेपाली समाजलाई जीवन्त बनाइरहेको बताए। सामाजिक परिवर्तन बुझ्नका लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने बताए।

उनले नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्म एलडीसीको स्थितिबाट उत्तीर्ण हुने, एसडीसीलगायत अन्ताराष्ट्रिय मान्यताप्राप्त विकास लक्ष्यहरू हासिल गर्नका साथै ग्लोबल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिबद्ध रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.