दम्माम : साउदी अरबको दम्माममा नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप फुटबल छनौट खेलिरहेको छ।
युएईसँग खेलिसकेको नेपालले मंगलबार यमनविरुद्ध खेल्दैछ। त्यहाँ रहेका नेपालीहरुले विभिन्न माध्यमबाट नेपाली टोलीलाई हौसला दिएका छन्। नेपाली टिमभित्रै रहेका एक खेलाडीले भने एक वर्षपछि दम्माममै आएर आफ्ना बुबालाई भेट्न पाउँदा अत्यन्त खुसी भएका छन्।
वैकल्पिक गोलकिपर विशाल सुनुवारलाई भेट्न उनका बुबा सन्त सुनुवार आफ्नो काम थाती राखेर होटलमै पुगेका छन्। फूलको व्यापार गर्ने सन्तलाई छोरा राष्ट्रिय टिममा पर्दा धेरै खुसी लागेको छ।
मेरो चाहना एकदिन छोराले अन्र्तराष्ट्रिय स्तरमा नेपालको झण्डामुनि रहेर खेलेको हेर्ने मन छ, भैरहवा ठुँटी पीपलका उनले भने,'धैर्य गर्नुपर्छ, एक दिन त पक्कै आउँछ।'
आफू पनि फुटबलमा किपर नै खेल्ने र मेरो चाहना पनि त्यही थियो, छोराले पनि आफैँ बुझेर खेल्यो, उनले भने, 'मैले यही छोरालाई भनेर विदेशी भूमिमा बसेर मेहेनत गरेँ, मायामा कमी हुन्छ कि भनेर एउटा सन्तान मात्र पाएँ, बाबुले हाम्रो चाहना बुझेजस्तो लाग्छ।'
अन्तरजातीय विवाहका विशालका बुबालाई उनकी आमाको माइतीबाट स्वीकार भएन। जसका कारण विशालले आफ्नो मामाघर दार्जिलिङ भए पनि अहिलेसम्म पाइला टेकेका छैनन्। एकदिन राष्ट्रिय टिमबाट खेलेपछि पक्कै पनि आफ्ना आमा बुबालाई लिएर उनी मामाघर जाने बताउँछन्।
विशाललाई भेट्दा उनका बुबा सन्तको खुसीका आँशु बगेको छ। बुबालाई हेर्दै र बुबाका कुरा सुन्दै विशाल पनि गम्भीर भएका छन्।
'म पनि ठाउँमा पुगेर ड्याडीले गरेको मेहेनतलाई ध्यान दिएर एकदिन त्यसको प्रतिफल दिनेछु' उनले भने।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।