आफ्नै समकक्षी खेलाडीलाई प्रशिक्षण
आफ्नै समकक्षी खेलाडीलाई प्रशिक्षण
दमाम : हँसिलो मुहार, मिजासिलो स्वभावले चेतन घिमिरेलाई छुट्ट पहिचान दिएको छ। फुटबलमा उनको परिचय खोज्ने हो भने उनी नेपाली टिमको उमेर समूहदेखि सिनियर टोलीसम्म फुटबल खेल्ने यस्ता खेलाडी हुन्, जसले खेल जीवनपछि प्रशिक्षक बनेर नेपाली राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरिरहेका छन्।
कुनै समय नेपालको राष्ट्रिय झण्डामुनि फुटबल खेलेका उनी पछिल्लो समय अल्बर्टो भिन्सेन्जो एनेसको सहायक बनेर नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण गरिरहेका छन्।
विश्वकप २०२६ को एशियाली छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम दुई खेलअघि चेतनले नेपालको सहायक प्रशिक्षकको जिम्मेवारी पाएका छन्।
सन् २००९ मै सिनियर अन्तरराष्ट्रिय फुटबलमा डेब्यु गरेका र एन्फा एकेडेमीमा हुर्किएका रोहित चन्द पनि अहिले नेपाली टोलीमा छन्।
सर्लाहीमा जन्मिएर धनुषाको जनकपुरमा हुर्किएका चेतन कक्षा ७ मा पढ्दा जिल्ला छनोटमा परेर विसं २०५७ सालमा एन्फा एकेडेमी पुगेका थिए।
जनकपुरको टोलमा फुटबल खेल्दै गरेका उनमा एक न एक दिन नेपाली जर्सी लगाएर अन्तरराष्ट्रिय म्याच खेल्ने सपना मनमनै बुनिरहेको थियो। त्यति वेला संजीव सिंह, तपेश्वर राउत, जनकसिंह, रामराज सिंहलगायतको प्रेरणामा फुटबलमा प्रवेश गरेका थिए उनी। उनीहरुकै सहयोगमा एन्फाको ग्रासरुट कार्यक्रमअन्तर्गत सञ्चालन भएको एन्फा एकेडेमीसम्म पुग्न मद्दत मिल्यो।
३ दाजुभाई र ३ दिदीबहिनीमध्ये २ वटा दिदीपछिको जेठो छोरा हुन्, चेतन। जनकपुर विडारी चोकमा उनको बुवाको चिया पसल थियो।
‘म त्यति वेला हरि खड्का, बसन्त गौचनको खेलबाट प्रोत्साहित भएर खेलमा अगाडि बढेको थिएँ,‘ उनले भने, ‘त्यो वेला टिभीमा फुटबल हेर्दा आफूलाई पनि कहिले नेपाली राष्ट्रिय टिममा बसेर खेल्न पाइएला भन्ने चाहना थियो।’
यू–१२ मा एकेडेमीमा प्रवेश गरेका उनले शुरुमा वुटबलमा प्रशिक्षण लिएका थिए। एकेडेमीमा झण्डै ५ वर्ष बसेर राष्ट्रिय टोलीको जर्सी लगाएका चेतनले उमेर समूहका म्याच खेले।
यू–१७ पछि एन्फाले एकेडेमीका खेलाडी रिलिज गरेपछि उनी संकटा क्लबबाट खेल्न थाले। ‘२०६३ सालको लिगमा त्यति वेला संकटा जाने खेलाडीहरुमा रविन श्रेष्ठ, भरत खवास, अनिल ओझा, पुकार गहतराज, विकाससिंह क्षेत्री, दीपक भुषाललगायत थियौँ,’ उनले भने।
सन् २००७ मा अनिल अधिकारी र प्रकाश अर्यालको सहयोगमा नेपाल पुलिस क्लब प्रवेश गरेका उनले लगत्तै एएफसी प्रेसिडेन्ट कप खेले।
भरत खवास, विराज महर्जन, रविन श्रेष्ठ, किरणकुमार चेम्जोङ उनका ब्याचका थिए। भरत र किरण अहिले पनि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् भने चेतन अहिले उनीहरुलाई नै प्रशिक्षण दिने प्रशिक्षक भएका छन्।
उनी नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहेका छन्। यू–१६ राष्ट्रिय टोलीबाट किरण चेम्जोङ, विक्रम लामा उनीसँग एकेडेमीमा मिसिन पुगेका थिए।
सिनियर राष्ट्रिय टोलीबाट खेल्न भने उनले अझै २ वर्ष कुर्नु पर्यो। एएफसी च्यालेन्ज कप फुटबलका दौरान सिनियर अन्तरराष्ट्रिय फुटबलमा उनले डेब्यु गरे। प्यालेष्टाइनसँगको सो खेलमा उनीसँगै रोहित चन्दले पनि डेब्यु गरेका थिए।
‘मैले यू–१४ देखि यू–२३ राष्ट्रिय टोलीसम्म स्ट्राइकरका रुपमा खेलेँ। सिनियर राष्ट्रिय टोलीमा आएपछि भने विंगरको जिम्मेवारी दिइएको थियो’, चेतन भन्छन्।
सन् २०१० मा बंगलादेशमा आयोजना भएको दक्षिण एशियाली खेलकुद (साग)का क्रममा उनी घाइते भए। पछि पुलिस क्लबबाट खेल्दा प्रशिक्षण गर्ने क्रममा खेल्नै नसक्ने गरी घुँडामा चोट लाग्यो। कतारमा उनको अप्रेसन भयो। पछि घरेलु लिगमार्फत उनले पुनरागमनको प्रयास गरे।
राम्रो प्रदर्शन गरेपछि सन् २०१३ को एएफसी च्यालेन्ज कप छनोटका लागि राष्ट्रिय टोलीमा समावेश भए चेतन। लगत्तै लिग खेल्ने क्रममा आर्मीविरुद्ध खेल्दा अर्को घुँडामा पनि चोट लाग्यो। यस पटक उपचारका लागि कसैबाट सहयोग पाएनन्। कसैले वास्ता गरेन।
‘आफ्नै खर्चमा अप्रेसन गर्न असम्भव जस्तै थियो। त्यति वेला अप्रेसन हुन पाएको भए म अहिलेसम्म खेलिरहेको हुन्थें होला। २३/२४ वर्षको उमेरमा त्यो परिस्थिति सम्हाल्न त्यति सजिलो थिएन’, चेतन भन्छन्, ‘घाइते नहुँदासम्म म पहिलो खेलदेखि नै शुरुवाती टोलीबाट खेलिरहेको थिएँ। एउटा खेलाडीले खेल्न नसक्नुको पीडा उसलाई मात्र थाहा हुन्छ।‘
उच्च लयमा रहेकै वेला घाइते भएपछि उनको करियर नै संकटमा पर्यो। ‘उनीहरु साथी भए पनि प्रोफेशनल लाइफ फरक हुन्छ। प्रशिक्षकको नजरले सबैलाई समान खेलाडीका रुपमा हेर्नुपर्छ’, चेतन भन्छन्। खेलाडी हुँदा पूरा गर्न नसकेको सपना अब प्रशिक्षणबाट पूरा गर्न चाहन्छन् उनी।
‘खेलाडीभन्दा व्यापक चुनौती र दबाबको जिम्मेवारी हो प्रशिक्षक। अहिले नेपालका धेरै आशलाग्दा खेलाडी विदेशिएका छन्। यहाँ भएका खेलाडीमा पनि सम्भावना देखिन्छ। गर्नुपर्ने धेरै छ। केही सकारात्मक कुरा पनि छन्। मुख्य कुरा हामीले घरेलु लिग र अन्य प्रतियोगिताहरुलाई नियमित गर्नुपर्छ’, उनी भन्छन्।
हाल कपन मिलनचोक बस्ने चेतन यू–२३ को सहायक कोचसमेत भइसकेका छन्। फुटबलको विकास गर्न र नयाँ जनशक्ति उत्पादन गर्न उनले केही वर्षयता कपनमै इलिट किर्कस शुरु गरेका छन्। जहाँ २२ देखि २५ जना युवा खेलाडीले फुटबल प्रशिक्षण लिइरहेका छन्।
फुटबलको समयपछि परिवारमै रमाउने उनकी श्रीमतीसँगै एक ७ वर्षीया छोरी पनि छिन्। उनी यसबाहेक केही विद्यालयमा खेलकुद प्रशिक्षकका रुपमा रहेका छन्।
प्रिमियर इनटरनेशनल स्कुल र सेन्ट लरेन्स स्कुलमा फुटबलको प्रशिक्षण दिइरहेका छन्। ‘चोटले नसताएको भए सायद म पनि अहिलेसम्म नै खेलिरहन्थेँ होला,’ उनले भने‚ ‘मसँगैका साथीहरु खेलिरहेका छन्, तै पनि प्रशिक्षक भएर पनि नेपाली फुटबलमै जोडिन पाउँदा खुशी नै लागिरहेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।