|

काठमाडौँ : वीर अस्पतालमा जुन महिनाभरि अर्थात आगामी असार १६ गतेसम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने भएको छ।

अस्पतालका प्रमुख न्युरो सर्जन डा राजीव झाका अनुसार यो जुनभरि नै वीरमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिएको छ। डा झाले भने‚ ‘हुन त वीर अस्पतालमा धेरै शुल्क त लाग्दैन तर पनि हामीले यो जुनभरि सामान्यदेखि जटिल प्रकारका ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने निर्णयबमोजिन सेवा दिइरहेका छौँ।’

ब्रेन ट्युमरका यी विरामीको हुँदै छ निःशुल्क शल्यक्रिया

यसअघि नै ब्रेन ट्युमरको शल्यक्रिया गर्न पालो कुरेर बसेका र यस अवधिमा पालो आउने विरामीहरुले निःशुल्क शल्यक्रिया गर्न पाउने राष्ट्रिय ब्रेन ट्युमर केन्द्र वीर अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका न्युरो सर्जन डा झाले भने‚ ‘हामीले यो त्यो विरामी भनेर छनोट गर्दैनौँ यसअघि नै ब्रेन ट्युमर भएर हाम्रोमा सर्जरीको पालो कुरेर बस्नु हुने विरामीमध्ये जुन महिनाभर पालो पर्ने विरामीहरुले निःशुल्क सेवा पाउनुहुन्छ।‘

हाल काठमाडौँमा ठूला निजी अस्पतालहरुले मस्तिष्कसम्बन्धी सर्जरी गर्दा १ देखि ३ लाख रुपैयाँसम्म शुल्क लिने गरेका छन्। वीर अस्पतालमा २५ हजार रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ। यसमा पनि स्वास्थ्य बिमा, विपन्न नागरिक उपचार सेवाबाट समेत सेवा पाउने गरिन्छ।

वीर अस्पतालको न्युरो सर्जरी विभाग देशभरिमै अब्बल सर्जरी विभाग मानिन्छ। विभागका अनुसार हाल साताको ४ दिन ब्रेनसम्बन्धी विभिन्न प्रकारका जटिल प्रकारका सर्जरी हुँदै आएको छ।

ब्रेन ट्युमर, ब्रेन हेमरेजजस्ता मस्तिष्कका जटिल प्रकारका सर्जरी गर्ने दिन दैनिक ५ जनासम्म विरामीको सर्जरी हुँदै आएको न्युरो सर्जन झाले बताए। डा झाका अनुसार देशभरबाट दैनिक ६ देखि ८ जनासम्म विभिन्न प्रकारका ब्रेन ट्युमरका विरामी उपचारका लागि वीरमा आउने गरेका छन्।

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगले पार्ने असर, ब्रेन ट्युमरबाट हुने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ। नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो।

वीर अस्पतालमा हरेक वर्ष करिब १ हजार जना जतिको विभिन्न प्रकारका न्युरोसम्बन्धी जटिल प्रकारको सर्जरी हुने गरेको छ। अस्पतालको विवरणअनुसार अघिल्लो आवमा मात्रै वीर अस्पतालमा ८५९ जनाको विभिन्न प्रकारको न्युरोसम्बन्धी सर्जरी भएको थियो।

डा. उपेन्द्र देवकोटाले शुरु गरेको अस्पतालको न्युरो सर्जरी विभागमा हाल डा झाको नेतृत्वमा ५ जना विशेषज्ञ न्युरो सर्जन चिकित्सकसहितको टिम रहेको छ।

अस्पतालमा यो विभागको आफ्नै ६ बेड न्युरो आईसीयू रहेको छ। त्यसैगरी नयाँ सर्जिकल भवनमा थप २० शय्यासहित जम्मा ८० शय्याको न्युरो वार्ड सञ्चालनमा थियो तर केही महिनायता जनशक्तिलगायतको समस्याका कारण ८० मध्ये करिब ६० बेडको वार्डमात्र सञ्चालनमा रहेको अस्पतालले जनाएको छ। 

१० बेड न्युरो आईसीयू रहेकोमा घटेर ६ बेडमात्र सञ्चालनमा रहेको अस्पतालले जनाएको छ। न्युरो सर्जरीका दुईवटा शल्यक्रिया कक्षमध्ये जनशक्तिको अभावको कारण एउटा शल्यक्रिया कक्ष नियमित सञ्चालन हुनसमेत नसकेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.