|

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पार्टी फुटाइदिएको आरोप लगाएको छ।

जनकपुरधाममा सोमवारबाट सुरू महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारले पार्टी विभाजन गराएपछि अहिले आफूहरू प्रतिपक्षको भूमिकामा रहेको अध्यक्ष यादवले उल्लेख गरेका छन्।

सरकारले राजकीय स्रोत, साधन र शक्ति दुरूपयोग गरी पार्टी फुटाइदिएको अध्यक्ष उपेन्द्र यादवले पेश गरेको दस्तावेजमा उल्लेख छ। संघीय सरकार फेरिनेवित्तिकै प्रदेश सरकारहरूमा उथलपुथल एवम् परिवर्तन हुनाले राज्य झन् अस्थिर भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश सरकारका कार्यहरूले जनता उत्साहित र लाभान्वित नै भएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न प्रतिगमनलाई परास्त गर्न, सुशासन र विकास कार्यलाई अगाडि बढाउन, हाम्रो पार्टी सडकका साथै संसद् र सरकारमा सहभागी भई सङ्घर्षलाई निरन्तर जारी राख्नुपर्दछ। सडक, संसद् र सरकार तीनवटै हाम्रा लागि संघर्षकै मोर्चा हुन्, यसलाई समय सापेक्ष जनहितमा उपयोग गरिनुपर्छ।’

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक मुद्दा मिल्ने तर सिद्धान्त, विचार नमिल्ने दलहरूका सङ्घर्षको प्रकृति हेरी संयुक्त मोर्चा वा कार्यगत एकतामा आबद्ध गर्नुपर्दछ। हामीले संघीयता, लोकतान्त्रिक गणतन्त्र विरोधी वा परिवर्तनका बाधक शक्तिहरूलाई एकल्याउन र त्यसको विरूद्ध सबै राजनीतिक शक्तिहरूलाई मोर्चामा आबद्ध गर्न सक्नुपर्छ।’

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, सुशासन, पहिचान, धर्मनिरपेक्षता, सामाजिक न्यायका पक्षधर र समाजवादी शक्तिहरू, सिद्धान्त, विचार र नीति मिल्ने दलहरूसँग एकीकरण अथवा पार्टी एकता गर्ने नीति अगाडि सारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.