|

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले जितका लागि बंगलादेशलाई ११४ रनको लक्ष्य दिएको छ।

अमेरिकी शहर न्यूयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर मात्र ११३ रन बनाउन सक्यो। 

उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रनको योगदान गरे। ४४ बलको सामना गरेका उनले आफ्नो पालीमा २ चौका र ३ छक्का प्रहार गरे। डेभिड मिलरले २९ रन तथा क्विन्टन डे ककले १८ रन बनाए। 

क्लासेन र मिलरले पाँचौँ विकेटका लागि ७९ रनको कीर्तिमानी साझेदारी गरे। अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कप्तान एडेन मार्‌क्रम ४ रनमा पवेलियन फर्कँदा ट्रिस्टन स्टब्स र रीजा हेन्ड्रिक्सले खाता नै खोल्न सकेनन्।

दक्षिण अफ्रिकाले ७ अतिरिक्त रन पायो।

बंगलादेशका लागि तन्जिम हसन सकिबले सर्वाधिक ३ विकेट‚ तास्किन अहमदले २ विकेट र रिशद होसेनले १ विकेट लिए।

समूह चरणमा अहिलेसम्म खेलेका दुवै खेल जितेर समूहको शीर्षमा रहेको दक्षिण अफ्रिका आज (सोमवार) बंगलादेशलाई पनि हराउँदै लगातार तेस्रो खेल जित्न चाहन्छ।

पहिलो खेलमा श्रीलंकालाई हराउँदै उच्च मनोबलमा रहेको बंगलादेश पनि दक्षिण अफ्रिकालाई हराएर सुपर आठको यात्रा सहज बनाउने दाउमा छ।

बंगलादेश र दक्षिण अफ्रिकाबीच अहिलेसम्म भएका ८ वटा खेलमध्ये सबै खेल दक्षिण अफ्रिकाले जितेको छ।

बंगलादेशले ब्याटिङ शुरु गरिसकेको छ। उसले २ ओभर सकिँदा १ विकेट गुमाएर ९ रन बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.