पर्वत : गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ।
पोखरा रङ्गशालामा सम्पन्न फाइनलमा तनहुँलाई टाई ब्रेकरमा ४–३ ले पराजित गर्दै कास्कीले उपाधि जितेको हो। उपाधिसँगै कास्कीले नगद दुई लाख सहित ट्रफी र मेडल जितेको छ भने उपविजेता तनहुँले नगद एक लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ।
निर्धारित समयमा दुवै टिम गोल गर्न असफल बने पछि खेल टाई ब्रेकरमा धकेलिएको थियो। कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयुष्मान् गुरुङले गोल गर्दा राजकुमार कुँवरको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिएको थियो।
तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आस बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिँदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले बचाउ गरे। यस अघि निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुवै टिम गोल गर्न असफल रहेका थिए।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तनहुँका सन्त बहादुर गुरुङ घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे। त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका बिसन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भएका छन्। उत्कृष्ट घोषित भएका सबैले जनही नगद पाँच हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरेका गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव विनोद गुरुङले बताए।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल सङ्घको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, सङ्घका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, अग्रज समाजसेवी टिका कार्कीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
सो अवसरमा बोल्दै प्रदेश खेलकुदका उपाध्यक्ष गुरुङले पछिल्लो क्रममा परिषद्ले खेलकुद विकासका लागि विभिन्न प्रतियोगिताहरू तय गरेको जनाउँदै पोखरालाई पर्यटनको सहरका रूपमा मात्रै नभई खेल पर्यटन हवको रूपमा विकास गर्न सबैको सहयोग र सहकार्यको खाँचो रहेको औँल्याए। कार्यक्रममा एन्फाका केन्द्रीय निवर्तमान अध्यक्ष शेर्पाले पछिल्लो समय नेपाली फुटबलको अवस्था खस्किँदै गएको अवस्था प्रति चिन्ता व्यक्त गर्दै फुटबल विकासका लागि जिल्ला र प्रदेश लिगहरूको आयोजनालाई अघि बढाउनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।