राज्यलाई दबाब दिन आर्थिक संकलन

|

काठमाडौं : गत आइतबार अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ र  दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुल चुडिएसँगै यतिखेर आवतजावतमा बन्द गरिएको छ। झोलुंगेपुल नभएपछि स्थानीयबासीहरूको दैनिकी चलाउनै सकस परेको छ भने विद्यार्थीहरू पढ्नबाट बञ्चित भएका छन्।

त्यसैले तत्काल पक्की पुल बनाउन स्थानीयबासीहरूले सरकारसँग माग गरेका छन्। चण्डिका माविका शिक्षक कमल बहादुर शाहीले डेढ सय विद्यार्थीहरू पुल नहुँदा पढ्नबाट बञ्चित भएको जानकारी दिएका छन्।

उनले भने,‘पुल नहुँदा सबैको पढाइ नै रोकियो,तत्काल पक्की पुल बनाएर सहज वातावरण मिलाउनुपर्‍याे।’

स्थानीय जानकी जैशीले पनि अहिले पुल नहुँदा अछामका विद्यार्थीहरू दैलेख र दैलेखका विद्यार्थीहरू अछाममा भएको विद्यालयमा पढ्न जान नसकेको जानकारी दिइन्। ‘आज विद्यार्थीहरू विद्यालय जानै सकेनन्,त्यसैले यथा शिघ्र पक्की पुल बनाउनुपर्‍याे राज्यले',उनले भनिन्।   

आइतबार बिहान ९ बजे कर्णाली नदीमाथिको झोलुंगे पुल हुँदै खच्चडहरू नदी पार गरिरहेका थिए। तर, ती खच्चड पार गर्दै गर्दा लठ्ठा चुँडिएर १३ वटा खच्चड पुलमै अड्किए। जसमध्ये ११ वटा उद्धार र दुई वटाको मृत्यु भएको थियो।   

राज्यलाई दबाब दिन आर्थिक संकलन

स्थानीय समाजसेवी भरत साउदका अनुसार राज्यलाई छिटो पक्की पुल निर्माणको लागि दबाब दिन आर्थिक संकलन अभियान थालिएको छ। पुलको लट्ठा चुडिएर घाइते भएका  खच्चडलाई  मलमपट्टि र मरेका खच्चड  मालिकलाई राहतको लागि पनि यो अभियान चलाइएको उनले जानकारी दिए।

उनका अनुसार हालसम्म करिब १३ हजार रूपैँया आर्थिक संकलन भएको छ। ‘हामीले राज्यलाई छिटो पक्की पुल बनाउन दबाब दिनलाई पनि यो अभियान थालेका हौँ,सहयोग गर्न इच्छुक व्यक्तिहरूले (इसेवा नम्बर ९८६९४६०९९९) मा सहयोग गर्नुसक्नु हुनेछ,’उनले भने।

उनका अनुसार उक्त पुल २०६१ सालमा काम सुरू भइ २०६३ सालमा काम सम्पन्न भएको थियो। तर,काम कमसल भएकै कारण पुल चुडिएको स्थानीयहरूले बताएका छन्। अहिले पैसा तिरेर ढुंगाबाट वारपार गर्न स्थानीयहरू बाध्य छन्। 

‘अब झोलुङ्गे होइन पक्की पुल सरकारले बनाउनुपर्छ भन्ने अभियान नै थालेको छु। हिजो आज अछामको दूध ताजा तरकारी दाउरा नआउँदा खिडिज्युलामा  दूध चिया खान पाइँदैन र वारी खिकिज्युलाबाट पारी नुन, चामल, दाल तेल, लुगा किन्न वारी नै आउनुपर्नछ।  हामी उहीँ १८ औ शताब्दी तिर त पुगिरहेका छैनौँ? जस्तो लाग्छ। त्यो २०६२/६३ अघि त पुल भएको ठाउँमा तुइन थियो', उनले भने,'अहिले त्यो हटाएर झोलुङ्गे पुल बन्यो। हिजो आज पानी परेको छैन पानी परेपछि कर्णाली नदी बढेपछि  वारी पारी जाने त आकाशको फल आँखा तरी मर जस्तै उखान हुने छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.