|

काठमाडौँ : नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धी कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गरेका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले समाजवाद उन्मुख भन्नेहरूले पनि पुँजीवाद उन्मुख भएर कृषि सम्बन्धी कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताए। सांसद गौतमले नेपाललाई किसानहरूको देशको रूपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए। उनले शहरै शहरको परिकल्पना गरेर र ठूलो किसान तथा व्यापारीहरूको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि ठोकुवा गरे।

सांसद गौतमले भने, ‘भन्नलाई साम्यवादी भन्नुहुन्छ। समाजवाद उन्मुख भन्नुहुन्छ। यो कृषिको कार्यक्रम त पुँजीवाद उन्मुख छ। कहाँबाट यो समाजवादतिर उन्मुख छ ? यसले त ठूला किसान र व्यापारीहरूलाई मात्रै ध्यान दिन्छ। यसले समृद्धिको यात्रा तय गर्दैन। त्यसकारण यसमा मेरो घोर असहमति छ। मेरो विज्ञहरूसँग आग्रह छ। नेपाललाई किसानको देश बनाऔं। यसलाई गाउँको देश बनाऔ। शहरै शहरको परिकल्पना नगरौँ।’

सांसद गौतमले समाजवाद भन्ने अनि बजेट पुँजीवादी ल्याउने काम सरकारले गरेकाले त्यसमा आफ्नो असहमति रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.