काठमाडौँ : नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तीमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकमा शुरुमै समय लिएर बोल्दै उनले उक्त अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालू आर्थिक वर्षभित्र आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्। उनले त्यसका लागि आफूहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई भनेको र प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमानले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।
सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्ता विकट जिल्लामा एक वर्षमा करिब १ लाख सेवाग्राहीले निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने उक्त अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न संघीय सरकारले ढिलाइ नगर्ने विश्वास व्यक्त गरे।
सांसद पाण्डेले भने, ‘अछाम जिल्लाको बलयपाटा अस्पताल १६ वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा न्याय हेल्थ नेपाल नामक संस्थाले सञ्चालन र व्यवस्थापन गर्दै आएको छ। अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरूमा एक वर्षमा करिब १ लाख सेवाग्राहीले त्यहाँ निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्छन्। महिनौँदेखि स्वास्थ्यकर्मी तलबबाट वञ्चित हुनु भएको छ। जसका कारणले यो अस्पताल बन्द हुने अवस्थामा पुगेको छ।’
सांसद पाण्डेले सो अस्पतालमा चिकित्सकसहित कर्मचारीले तलबसमेत नपाएको उल्लेख गर्दै सरकारले असारभित्रै आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।