काठमाडौँ : कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ।
नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ।
हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार ५९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ प्रतिशत अर्थात् १ हजार ८६२ वटा शाखा छन्।
बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको ७ दशमलव १३ प्रतिशत अर्थात् ४ खर्ब ४१ अर्ब रुपैयाँ बराबर कोशी प्रदेशमा छ।
कूल कर्जाको ११ दशमलव २६ प्रतिशत अर्थात् ५ खर्ब ७२ अर्ब रुपैयाँ ऋण कोशी प्रदेशमा विस्तार भएको छ। अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्ब रुपैयाँ बराबर कर्जा र ५० खर्ब ८४ अर्ब रुपैयाँ बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ।
यस प्रदेशमा २२ हजार १०७ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। जसमा ३४ अर्ब २ करोड ५२ लाख रुपैयाँ बराबर सहुलियत कर्जा स्वीकृत भएको छ।
सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार ८६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ८ हजार ९२२ जनाले लिएका छन्।
कूल ७ लाख ७९ हजार ५८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा ७ लाख २ हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कूल सिञ्चित क्षेत्रफल ३ लाख १५ हजार ८११ हेक्टर रहेको छ।
चालु आव ०८०/८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादन ९ खर्ब ३ अर्ब रुपैयाँ बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर ३ दशमलव ५१ प्रतिशत अनुमान गरिएको छ।
कोशी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन १ हजार ३३६ अमेरिकी डलर बराबर छ। गरिबी दर १७ दशमलव १९ र बहुआयामिक गरिबी १५ दशमलव नै प्रतिशत रहेको छ।
मुलुकको कूल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४ दशमलव ४४ र निर्यात हिस्सा ३९ दशमलव ०६ प्रतिशत बराबर छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।